४ दिनदेखि विद्युत नहुँदा जनजीवन अस्तव्यस्त



धनगढी : बिहीबार राती आएको विनाशकारी हावाहुरीले विद्युत अवरुद्ध हुँदा धनगढी बजारको जनजीवन अस्तव्यस्त बनेको छ। चारदिनदेखि अवरुद्ध विद्युत सेवा अझै पूर्ण रूपमा सुचारु हुन सकेको छैन।

प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढी बजारका उद्योगी व्यवसायीहरू मर्कामा परेका छन्। ‘बत्ती आउदैन्, चर्को गर्मी छ, आएका ग्राहक पनि फर्केर जान्छन्,स्थानीय होटल व्यवसायी शैलेन्द्र शाहीले गुनासो गरे। होटलमा खानेपानी, फ्रिज, पंख्खा सञ्चालन हुन नसक्दा होटलनै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

यस्तै धनगढी बजारका अधिकांश उद्योगधन्दा पनि सञ्चालनमा आउन सकेका छैनन्। सुदूरपश्चिमका उद्योग कलकारखानाहरू चारदिनदेखि पुर्णरुपमा बन्द हुँदा ठुलो घाटा व्यहोर्नु परेको प्रदेश उद्योग वाणिज्य महासङ्गका अध्यक्ष शंकर बोगटीले बताए।

विद्युत अवरुद्ध हुँदा मैदा, बिस्कुट, चामल लगायतका फ्याक्ट्रिहरुमा करोडौँको कच्चा पदार्थ खेर गएको बोगटीले बताए। यसैबीच विद्युत अवरुद्ध हुँदा धनगढीका मासुपसलहरु चार दिन देखी खुल्न सकेका छैनन्।

यता नेपाल विद्युत प्राधिकरण धनगढीले हावाहुरीले ढलेका पोलहरू गाड्ने र लाइन मर्मत सम्भारको काम तीव्र रूपमा चलिरहेकाले चाँडै विद्युत सुचारु हुने जनाएको छ। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले हावाहुरीका कारण अवरुद्ध भएको लाइन मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको बताए। 

प्रतिक्रिया दिनुहोस्