जुम्लाका स्वास्थ्य संस्थामा जीवनजल अभाव



जुम्ला : कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजल अभाव छ। गाउँपालिकाले समयमा औषधि नपठाउँदा जीवनजल अभाव भएको हो। अहिले सुक्खा मौसममा झाडापखालाको मौसम छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ।

स्थानीय विन बुढाले भने, ‘स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन्। स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न त नियमित स्वास्थ्यकर्मी नै आउँछन्।’

स्वास्थ्यचौकीका अहेब गोविन्द भण्डारीका अनुसार गाउँपालिकाले समयमा औषधि खरीद नगर्ने र समयमा स्वास्थ्यचौकीमा नपठाउँदा जीवनजलसमेत अभाव हुने गरेको छ।

स्वास्थ्य चौकीमा आइरन चक्की चालू आर्थिकको जेठ अन्तिम सातासम्म तीन महीना जति शून्य मौज्दात थियो त्यसैगरी पारासिटामोल चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म दुई हजार ५०० ट्याब्लेट मात्र आएकाले अपुग भएको अहेब भण्डारीले बताए।

परिवार नियोजनका अस्थायी साधन कण्डम, पिल्स र डिपो पनि पर्याप्त मात्रामा आउने गरेको छैन। कण्डम चालू आवको जेठ तेस्रो सातासम्म गरी छ महिना अभाव भएको थियो।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष मनवीर बुढाले स्थानीय सरकारले पर्याप्त मात्रामा औषधि पुर्‍याउन नसकेको स्वीकार गरे।  स्थानीय तहमा कर्मचारी अभाव र समायोजनले गर्दा  समयमा औषधि खरिद हुन नसकेको उनको भनाइ छ।   

 

प्रतिक्रिया दिनुहोस्