उत्तर कोरियाले सार्वजनिक गर्‍यो अन्तरिक्षबाट खिचेका तस्बिर



एजेन्सी : उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले अन्तरिक्षबाट खिचेका तस्बिर सार्वजनिक गरेका छन्। सबैभन्दा लामो क्षेप्यास्त्र प्रक्षेपणको क्रममा अन्तरिक्षबाट तस्बिर खिचेको दाबी गर्दै उत्तर कोरियाली मिडियाले ति तस्बिर सार्वजनिक गरेका हुन्।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले आकाशबाट खिचिएका तस्बिर सार्वजनिक गर्दै आइतबार प्रक्षेपण गरिएको क्षेप्यास्त्रमा जडित क्यामेरामार्फत ति तस्बिर खिचिएको बताएको छ।

उत्तर कोरियाले आइतबार लामो दुरीको शक्तिशाली व्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको थियो। सो क्षेप्यास्त्र प्रक्षेपण सन् २०१७ पछिको सबैभन्दा लामो दुरीको क्षेप्यास्त्र बताइएको छ। सो क्षेप्यास्त्र प्रक्षेपणबारे दक्षिण कोरिया र जापानका अधिकारीहरुले पुष्टि गरेका थिए भने जुन आकाशमा करिब २ हजार किलोमिटर माथिसम्म पुगेको उनीहरुले बताएका थिए।

उत्तर कोरियाले आइतबार बिहान देशको जागाङ प्रान्तबाट सो क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। सो क्रममा आकाशबाट खिचिएका तस्बिरहरु खिचिएको दाबी उत्तर कोरियाले गरेको छ। ति तस्बीरमा कोरियाली प्रायद्धिप र वरपरका क्षेत्रहरु देखिएका छन्।

नयाँ वर्ष सुरु भएपछि उत्तर कोरियाले योसहित सातवटा क्षेप्यास्त्र प्रक्षेपण गरिसकको छ। दक्षिण कोरिया, जापानसहित अन्य अन्र्तराष्ट्रिय समुदायले उत्तर कोरियाको क्षेप्यास्त्र गतिविधिप्रति निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र र परमाणु हतियार परिक्षणमा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्