पार्टीमा सहभागी भएका बेलायती प्रधानमन्त्रीले माफी मागे



काठमाडौं : कोरोना महामारीका बेला पार्टीमा सहभागी भएपछि आलोचित बनेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन्। प्रधानमन्त्रीको सरकारी निवास १० डाउनिङ स्ट्रिटमा आयोजित पार्टीमा सहभागी भएपछि उनको आलोचना भएको थियो। आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले बताएको छ।

उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानबिन प्रतिवेदनलाई स्वीकार गर्ने बताएका छन्। उनले भनेका छन्, ‘हामीले ऐना हेर्नुपर्छ र सिक्नुपर्छ।’ विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोन्सनको राजीनामा नै मागेको छ। लेबर पार्टीका नेता किर स्टार्मरले प्रधानमन्त्री जोन्सनले राजीनामा दिनुपर्ने आवाज सुरुदेखि नै उठाउँदै आएका छन्।

बेलायतकी पूर्वप्रधानमन्त्री टेरिजा मेले पनि संसदमा प्रधानमन्त्री जोन्सनको आलोचना गरेकी छन्। उनले भनिन्, ‘कोरोनाका कारण प्रतिबन्ध लागू छ। ती नियमहरु प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन भनेर जान्ने अधिकार जनतालाई छ।’

प्रतिक्रिया दिनुहोस्