कोभ्याक्स सुविधामार्फत २३ लाख ४० हजार डोज मोर्डना खोप आयो



काठमाडौं । कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको छ ।
सोमबार र मंगलबार गरी २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सरकारले खरिद गरेको हो । हाल सो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिएको छ भने एक दुई दिनमा नै प्रदेशहरूमा पठाइने छ ।
सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेको थियो। त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ । भने २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको हो । यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ ।
सरकारले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरू पनि ल्याउँदैछ । कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले जानकारी दिइन् । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन ८४ लाख मात्रा फाइजर खोप खरिद गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्