बाल मन्दिरको २८ रोपनी जग्गा दुरुपयोग, २० जनाविरुद्ध पक्राउ पुर्जी



काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबिचको मिलेमतोमा बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना एक पैसा जग्गा दुरुपयोग गरेको उजुरीका आधारमा सिआइबी त्यसमा संलग्नहरूमाथि पक्राउ पुर्जी जारी गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ पुर्जी जारी हुनेमा नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्षद्वय रीता सिंह तथा चिरञ्जीवी तिवारी, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशङ्कर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

त्यस्तै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दीपकदास श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, श्रद्धा सङ्घाई, पुरुषोत्तमराज जोशी, अभिनव सिङ्घानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएकामध्ये चिरञ्जीवी तिवारी, मनोहर गोपाल श्रेष्ठ र सुमन शाक्यको निधन भइसकेको छ ।

सिआइबीका प्रमुख, श्याम ज्ञवालीले बाल सङ्गठनको जग्गा अपारदर्शी रूपमा कब्जा गरी हानिनोक्सानी पुर्‍याएको पाइएपछि अनुसन्धान अघि बढाइएको बताउए । ज्ञवालीले भने, “नेपाल बाल सङ्गठनको नाममा रहेको जग्गा दुरुपयोग गरी अनाथ बालबालिकाको भविष्यमाथि नै खेलबाड गरेको पाइएको छ । यसबारे हामी सूक्ष्म अनुसन्धान  गरिरहेका छौँ ।”

नेपाल बाल सङ्गठन र वृहस्पति विद्या सदनबिच विसं २०४९ मा  पहिलो पटक चार वर्षका लागि भाडा सम्झौता भएको थियो । सङ्गठनका पदाधिकारी तथा वृहस्पति विद्या सदनका पदाधिकारीबिचको मिलेमतोमा सो जग्गा पटक पटक गरी २०७२ साल न्यून भाडादरमा ७९ वर्षका लागि अपारदर्शी सम्झौताबाट नवीकरण गरिएको खुलेको सिआइबीले जनाएको छ ।

विसं २०५८ भदौ ११ गते गरेको सम्झौता अनुसार बाल सङ्गठनको सो जग्गा २०८९ सम्मका लागि मात्र सम्झौता भएको थियो । तर पुरानो सम्झौताको अवधि समाप्त हुन १७ वर्ष बाँकी रहँदै विसं २०७२ असार ३ गते नयाँ सम्झौता गरिएको पाइएको छ । जुन सम्झौतामा पुरानो सम्झौता अनुसारको समयावधि सकिएपछि लागु हुने गरी पुनः ३८ वर्षको समय थप गरिएको छ ।  काठमाडौँको नक्सालदेखि ज्ञानेश्वर, हाँडी गाउँदेख गहना पोखरीसम्म फैलिएको सो बाल मन्दिरको जग्गा प्रति रोपनी वार्षिक जम्मा तीन लाख ९३ हजार रुपियाँमा मात्र भाडा सम्झौता गरिएको छ । साढे २८ रोपनी क्षेत्रफल रहेको जग्गाको भाडा सम्झौता वार्षिक एक करोड १० लाख बुझाउने गरी भएको पाइएको छ ।

बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह र वृहस्पति विद्या सदनका पुरुषोत्तमराज जोशीबिच २०७२ असार ३ गते ३८ वर्ष थप गरी पूरक सम्झौता भएको अनुसन्धानबाट खुलेको छ । नेपाल बाल सङ्गठनका तर्फबाट उक्त अवैध सम्झौता भङ्ग गरी बाल मन्दिरको जग्गा दुरुपयोग गर्नेमाथि कारबाहीको मागसहित बिहीबार सिआइबीमा किटानी जाहेरी परेको थियो ।

२०८९ सालमा सकिने सम्झौता पनि बदिनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको सूचनापछि सिआइबीले त्यसबारे आन्तरिक रूपमा अनुसन्धान गरिरहेको भए पनि जाहेरी नपरेका कारण अनुसन्धान अघि बढाएको थिएन । व्यावसायिक घरना जोशी समूह र विशाल ग्रुपले अनाथ र असाहाय बालबालिकाको संरक्षणका लागि छुट्याएको जग्गामा अवैध रूपमा अपादर्शी भाडा सम्झौता गरी अनन्त कालसम्म व्यापारीलाई सुम्पिन खोजेको भन्दै सिआइबीले ठगी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्