मेलम्ची क्षेत्रका बाढी पीडितले राखे ६ बुँदे माग



काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितहरूले दीर्घकालीन आवास र पुनस्थापनाको माग गरेका छन्। हेलम्बु बाढीपहिरो पीडित सरोकार समितिका अध्यक्ष भरत थापाले मंगलबार मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकलाई ६ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका हुन्।

‘बाढीबाट विस्थापित समुदाय अहिले पनि तटीय क्षेत्रमा बस्नुपरेको कारण विस्थापित परिवारहरूको तत्काल वैकल्पिक व्यवस्था सहित दीर्घकालीन आवास र पुनस्थापनाको व्यवस्था गरियोस्’ सरोकार समितिले भनेको छ।

समितिले सुरुङको मुहान सफा गर्दा निस्किएका ढुङ्गा, बालुवा, गिट्टी आदि आयोजना आसपास क्षेत्रमा भण्डारण गर्दा पुनः तटीय क्षेत्र उच्च जोखिम रहने भन्दै ती सामग्री सुरक्षित स्थानमा भण्डारण गर्न माग गरेको छ।

गत १ असार र १६ साउनमा मेलम्ची नदीमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो। त्यति वेला अम्बाथानमा जम्मा गरेको सिमेन्ट, डन्डी, केमिकल लगायत निर्माण सामग्री, हेभी इक्युपमेन्ट लगायतका कारणले बाढीपहिरो गएको समितिको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्