जनगणनाप्रति सांसदहरुलाई नै अविश्वास !



काठमाडौं । सांसदहरुले राष्ट्रिय जनगणना २०७८ मा आफु नै छुटेको भन्दै तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
मंगलबार संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समित बैठकमा जनगणनाको तथ्याङ्क संकलनमा छुट्नेको संख्या ठूला भएको भन्दै त्यसलाई कसरी विश्वसनीय तथ्याङ्क मान्ने भनेर प्रश्न गरेका हन् ।
“राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० भएको उल्लेख छ, म पनि नछुटेको भए ८१ पुग्ने रहेछ,” सांसद तथा अर्थ समिति सदस्य पदम गिरिले भने, “यदि पुनः सर्वेक्षण गर्ने हो भने नेपालको जनसंख्या ५० लाख थप हुन्छ, श्रम विभागतिर गएर बुझौँ विदेश कति छन्, तर जनगणनामा २१ लाख नागरिक विदेशमा छन् भनिएको छ ।”
उनले विदेशमा रहेका लाखौँ युवा स्वदेश फर्किँदा कसरी रोजगारी सिर्जना गर्ने भनेर योजना बनाउन पनि सहि तथ्याङ्क चाहिने भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण विश्वसनीय नदेखिएको बताए ।
अर्का सांसद जयकुमार राई कतिपय जिल्लामा जनसंख्या भन्दा मतदाता बढी भएको भन्दै त्यो कसरी भयो ? भन्दै प्रश्न गरेका छन् ।
उनले गणकले भाषा, जाति र धर्मको विवरण नै नटिपेको बताए । उनले राज्यको स्रोत सही तरिकाले प्रयोग नभएको भन्दै टालटुले काम भएको बताए ।
समिति सदस्य सांसद सरवत आरा खानमले गणकले एक ठाउँमा बसेर विवरण दिने भए आउनुस् भनेर गरेको गणनाले कसरी सही तथ्याङक दिन्छ भन्दै प्रश्न गरिन् । अर्का सांसद रामबाबु यादव नागरिकता नभएकोको गणना नै नभएको बताए ।
“जनगणनामा नेपालमा बस्ने सबै नागरिकको गणना हुनुपर्ने हो तर नागरिकता नभएकाको गणकले विवरण नै संकलन गरेका छैनन्,” उनले भने ।
अर्का सांसद हरिराज अधिकारीले जनगणनामा शिक्षा, स्वास्थ, कृषिका विषयको कुरा नै नआएको र यसपटक पनि विगतकै जस्तो घर, परिवार, महिला, पुरूषको संख्यामा मात्रै केन्द्रित भएको बताए ।
अर्की सांसद प्रमिला राइले आफ्नो मात्रै नभएर टोलमै गणक नपुगेको बताइन् । सांसद सत्या पहाडीले पनि यो जनगणना पनि विगतकै जस्तो भएको संघीयताको अनुभूति हुने तथ्याङक नआएको बताइन् ।
सांसद सुरेन्द्र पाण्डेले भने केही फरक टिप्पणी गरे । उनले जनगणनाको प्रश्न नै सही विवरण ल्याउन नसक्ने खालको भए बताए ।
“राष्ट्र बैंकको सर्वेक्षण भन्छ ५७ प्रतिशत परिवारका कम्तिमा एक सदस्य वैदेशिक रोजगारीमा छन्, तर जनगणना भन्छ ६८ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ,” उनले भने, “५७ प्रतिशत परिवारको कम्तिमा एक सदस्य वैदेशिक रोजगारीमा छ भने त्यो परिवार रेमिट्यान्समा आश्रित भयो, व्यापार व्यवसाय, सरकारी रोजगारी निजी क्षेत्रमा कार्यरत श्रमिक पनि छन् अब कसरी ६८ प्रतिशत कृषिमा आश्रित जनसंख्या भनेर कसरी विश्वास गर्ने ?”
सांसदले उठाएको प्रश्नको जवाफ दिँदै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिन लाल श्रेष्ठले मूल प्रश्नावलीको नतिजा इन्ट्रि गरेपछि करिब एक वर्षपछि अन्तिम नतिजा आउने बताए ।
त्यसमा केही प्रतिशत तलमाथि भए पनि ठूलो फरक नहुने बताए । उनले तथ्याङ्क पूर्ण रुपमा सही हुन्छ भन्ने नभएको बताए । “तथ्यांक भनेको सत्यको नजिक ल्याउने हो सत्य नै यही हो भन्ने हुँदैन,” उनले भने, “यसअघि २०४८ को जनगणनामा अन्तिम तथ्याङक आउँदा जनसंख्या ११ प्रतिशत बढी भएको, २०५८ को जनगणनामा ५ प्रतिशत २०६८ को जनगणनामा प्रारम्भिक तथ्याङकमा साढे ३ प्रतिशत अन्डर काउन्ट भएको थियो, अहिले पनि केही प्रतिशत फरक होला तर करिब करिब यहि नै हुन जान्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्