मधेश सरकारले पत्रकारको स्वास्थ्य बिमा गर्ने



जनकपुरधाम । मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकारको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य बिमा हुन लागेको बताएका छन् ।
जनकपुरधाममा आयोजना गरेको पत्रकारहरूको स्वास्थ्य बिमासम्बन्धी अन्तरसंवादमा मन्त्री साहले मधेश प्रदेशमा कार्यरत श्रमजीवी पत्रकारहरूको स्वास्थ्यका साथै जीवन बिमा गर्नका लागि आमसञ्चार प्राधिकरणले काम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री साहले भने, ‘लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्छ ।’
कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले पत्रकारहरूले धर्म, क्षेत्र तथा जातभन्दा माथि उठेर कलम चलाएकाले पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बिमा कार्यक्रम महत्त्वपूर्ण भएको बताए ।
प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले स्वास्थ्य बिमाको माग ३० वर्ष अगाडिदेखि हुँदै आए पनि मधेश प्रदेश सरकारले कार्यान्वयन गर्न लागेकोमा खुसी व्यक्त गरे ।
मधेश प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । पत्रकार अस्वस्थ्य भएमा या दुर्घटना भएमा १ लाख रुपैयाँसम्मको खर्च गरिएको बीमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा वा मृत्यु भएमा ७ लाख रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्