ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालमा पनि सक्रिय



 

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति)नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ओमिक्रोन भेरियन्टको सहायक भाइरस ‘बीए.२’ फैलिरहेको जनाएका हुन् । ‘बीए.२’ ओमिक्रोन (बीए.१) जतिकै गम्भीर रहेको ती अधिकारीको भनाइ छ ।
डब्ल्यूएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताएका हुन् ।
रोयटर्समा लेखिएको समाचारमा पाभालिनलाई उद्धृत गर्दै भनिएको छ, ‘ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको छ । ‘बीए.२’ सब भेरियन्ट सुरुको ओमिक्रोन भेरियन्ट बीए.१ जस्तै भएको पनि पाभलिनको भनाइ छ । बीए.२ ले बीए.१ सब भेरियन्टलाई उछिन्न थालेको भए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको उनले बताए ।

जोखिम कायमै : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि जोखिम कायम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या घटे पनि संक्रमणको नयाँ भेरियन्टको जोखिम कायम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले जोखिम अझै नटरेको बताइन् । उनले भनिन्, ‘संक्रमण जोखिम बढ्दो क्रममा छ । दिनप्रति दिन नयाँ भेरियन्ट देखिरहेका छन्। हेलचेक्रयाई नगरौं ।’
उनले संक्रमणबाट बच्न भौतिक दूरी कायम र व्यक्तिगत सरसफाई र मास्कको समूचित प्रयोग गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्