भारतले नेपालसहित बंगलादेश र भुटानमा कोइला निर्यात गर्ने



काठमाडौं । संसारको सबैभन्दा ठूलो कोइला खानी कोल इन्डिया लिमिटेडले नेपाल, बंगलादेश र भुटानमा सीधारुपमा कोइला निर्यात गर्ने भएको छ ।
समाचार संस्था रोयटर्सकाअनुसार दशकसम्म घरेलु माग धान्दै गरेको उक्त कोइला खानीले अब भने छिमेकी मुलुकमा उत्पादनलाई सीधै निर्यात गर्नेछ ।
भारतको कोइला मन्त्रालयले तयार पारेको प्रस्तावमा भारतको ‘छिमेकी पहिलो विदेश नीति’ अन्तर्गत कोइला आपूर्ति सुरु गर्न लागिएको उल्लेख छ । दक्षिण एसियामा चीनको बढ्दो प्रभुत्वलाई कम गराउन भारतले तयारी गरिरहेको रोयटर्सले जनाएको छ ।
चरम कोइला संकटसँग जुधिरहेको भारतले यसवर्षको अन्त्यसम्म कोइला आपूर्ति गर्ने सम्भावना भने कम छ । कोल इन्डियाका अध्यक्ष प्रमोद अग्रवालले भने, ‘हामीसँग ऊर्जा संकट हुने थिएन भने हामीले यो आर्थिक वर्ष (मार्च २०२२ को अन्त्यमा) निर्यात गर्न चाहन्थ्यौं ।’
उक्त प्रस्तावमा भारतको कूल कोइला उत्पादनमध्ये ३ प्रतिशतलाई निर्यात गर्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्