जनताको सेवा गर्न नै मन्त्रालय थपिएको हो : मुख्यमन्त्री पाण्डे



मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरेर कुनै पश्चताप नभएको बताएका छन् ।
पाण्डेको नेतृत्वको प्रदेश सरकार गठनको १०० दिन पूरा भएको सन्दर्भमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘जनताको सेवा प्रभावकारी बनाउन १४ वटा मन्त्रालय बनाएका छौं । त्यो १४ वटा मन्त्रालयले प्रभावकारी काम गरेर केही समयभित्रमा देखाउने छन् ।’
उनले मन्त्रालयको संख्या धेरै भयो भनेर हिच्किचाउनुपर्ने कुनै कारण नभएको दाबी गरे । ‘काम गर्नकै लागि विभाजन गरिएको हो । मन्त्रालय विस्तार संविधानअनुसार नै छ,’उनले भने ।
मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको सरकारले पहिलो सय दिनमा उल्लेख्य काम गरेको दाबीसमेत गरे । सरकारको उपलब्धि सार्वजनिक गर्दै उनले प्रदेशलाई सशक्त बनाउन नीतिगत रूपमा धेरै भूमिका खेलेको बताए ।
सरकारले प्रदेशको आर्थिक, सामाजिक रुपान्तरण गर्न, नागरिकलाई सरल एवम् सहज गुणस्तरीय सेवा प्रवाह गर्न, पूर्वाधार विकासलाई व्यवस्थित तथा सुशासन प्रवर्द्धन गर्न प्रदेश सरकार नियमावलीमा केही हेरफेर गरी मन्त्रालयको संख्यामा केही वृद्धि गरिएको बताए । यसबाट सरकारको काम छिटो तथा पुँजीगत खर्च प्रभावकारी रूपमा वृद्धि हुने र जनताले सहज सेवा पाउने विश्वास लिइएको उनको दाबी थियो ।
गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका पाण्डेले ७ वटा मन्त्रालय फुटाएर १४ वटा पु¥याएसँगै उनको चौतर्फीरुपमा आलोचना भइरहेको छ । हाल वाग्मती प्रदेशमा १६ सदस्यीय जम्बो मन्त्रिपरिषद् रहेको छ ।

प्रतिक्रिया दिनुहोस्