अर्बौँ वर्ष पुरानो रहस्यमय कालो हीरा लिलाम हुँदै



काठमाडौं । पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा विक्री हुन लागेको छ । यो हीरा अर्बौँ वर्षअघि बनेको बताइन्छ ।
‘द एनिग्मा’ नामक उक्त रत्नको उत्पत्तिबारे विभिन्न मान्यताहरू छन् । तीमध्ये एउटाका अनुसार यो अन्तरिक्षबाट पृथ्वीमा आइपुगेको हो । यो हीरा ५५५.५५ क्यारेटको छ जुन एकदमै अस्वाभाविक हो । यसको तौल एउटा केराको जति छ ।
सजावट कला, गहना र विभिन्न वस्तुको ठूलो विक्रेता सथबीले लन्डनमा लिलामीमा राखेको यो हीराले ६० लाख डलरभन्दा बढीमा मूल्य पाउने अपेक्षा गरेको छ ।
यो हीरा कार्बनेडो अर्थात् प्राकृतिक हीराको सबैभन्दा कडा स्वरूपहरूमध्ये एक हो । कालो हीरा सामान्यतया झन्डै २.६ देखि ३.२ अर्ब वर्ष वा डाइनसोर अस्तित्वमा हुँदाको समयभन्दा पुरानो हुन्छ ।
पृथ्वी झन्डै ४.६५ अर्ब वर्षअघि उत्पन्न भएको हो । त्यसैले पृथ्वी र यो हीराको आयुको तुलना गर्ने गरिएको छ । कार्बनेडोहरू अत्यन्त दुर्लभ हुन्छन् । यी ब्रजिल र मध्य अफ्रिकी गणतन्त्रमा मात्र फेला परेका छन् ।
तिनमा उल्कापातमा मात्र पाइने ओस्बर्नाइट नामक एक किसिमको खनिज हुन्छ । त्यसैले यो हीरा अन्तरिक्षबाट उत्पन्न भएको विश्वास गरिन्छ । तर यसको उत्पत्ति कहाँ भएको हो भन्ने कुरा अहिलेसम्म रहस्यकै गर्भमा छ ।
लस एन्जलिसको प्राकृतिक इतिहास सङ्ग्रहालयका भूवैज्ञानिक आरोन सेलेस्टिअनका अनुसार कार्बनेडोहरू पृथ्वीको आन्तरिक भागको गहिराइमा हुन सक्छन्, जुन यसअघि हीरा पाइने स्थानहरूभन्दा धेरै गहिरोमा हुन सक्छ ।
एउटा अर्को सिद्धान्तका अनुसार पृथ्वीमा खस्नुअघि बाह्य अन्तरिक्षमा कालो हीरा बनेको हुनसक्छ ।
ठ्याक्कै ५५५.५५ क्यारेट तौलको हीरालाई ५५ वटा पाटो देखाउनेगरी काटिएको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्