मधेश प्रदेशको प्रमुख सचिवमा राउत नियुक्त



जनकपुरधाम । केन्द्र सरकारले मधेश प्रदेशको प्रमुख सचिवमा कृष्णबहादुर राउतलाई नियुक्त गरेको छ ।
शनिबार मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव राउतलाई स्वागत गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय करिब एक महिनादेखि प्रमुख सचिवविहीन बनेको थियो । यसअघि, हरिप्रसाद मैनालीले प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।
मधेश प्रदेशमा प्रमुख सचिवसहित १८ सचिवको दरबन्दी रहेकामा अहिले ८ सचिव मात्र कार्यरत छन् । प्रमुख सचिवको अभावमा मन्त्रिपरिषद् बैठक, आर्थिक कार्य, अनुगमन, कर्मचारी सरुवा, राहत वितरणलगायत कामहरू प्रभावित हुने गरेका थिए ।
प्रदेश सरकार स्थापना भएको ४ वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ६ सचिवको सरुवा भइसकेको छ । यस कार्यालयमा हालसम्म प्रमुख सचिवका रूपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् । यिनीहरूमध्ये राजेश्वरमान सिंह र दीपक सुवेदी मात्रै एक वर्षसम्म मुख्यमन्त्री कार्यालयमा बसे । बाँकी सचिव ६ देखि ७ महिनामै सरुवा भएका थिए ।
केन्द्र सरकारले थोरै समयमा सचिवहरू सरुवा गर्ने गरेकाले प्रदेश सरकारले सोचअनुसार काम गर्न नपाएको आरोप मुख्ममन्त्री तथा मन्त्रीहरूले लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्