हेलम्बुको चनौटे बजार जोड्ने बेलिब्रिजको उद्घाटन



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बाढीले क्षति पु¥याएको हेलम्बु गाउँपालिका चनौटे बजार जोड्ने नवर्निमित पुल (बेलिब्रिज) उद्घाटन भएको छ । शनिबार गृहमन्त्री बालकृष्ण खाँणले बेलिब्रीजको उद्घाटन गरेका हुन् ।
पुल उद्घटनपछि गृहमन्त्री खाँणले बाढीपीडितको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए । ‘बाढीपीडितको लागि सरकार प्रतिबद्ध भएर लाग्दैछ, यहाँको सम्पूर्ण क्षतिग्रस्त संरचनाबारे विवरण लिएका छौं, सडक, पुलजस्ता भौतिक संरचनाको पुननिर्माण हुनेछ,’उनले भने ।
उद्घाटनअघि हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सरकारी निकायको ढिलासुस्तीले बाढीपीडितको सुरक्षित आवास, भेमाथाङ पहिरोको अध्ययन र भौतिक तयारीसहित अझै डीपीआर नगरिएको दुखेसो मन्त्री खाँणसमक्ष गरेका थिए ।
असार १ मा मेलम्ची बाढीले हेलम्बु र मेलम्ची तटीय क्षेत्र ध्वस्त बनाएको थियो । जसबाट दर्जन गाउँको अस्तित्व मेटियो भने बाढीबाट हेलम्बु गाउँपालिका र मेलम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी गरी पाँचले ज्यान गुमाएका थिए भने २० जना अझै बेपत्ता छन् ।
यस्तै गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिका २ र ७ जोड्ने चनौटे बजारस्थित मोटरवेल पुल बगाएपछि स्थानीय घण्टौं हिँडेर वनको बाटो यात्रा गर्न बाध्य थिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल निर्माण नेपाली सेनालाई जिम्मा दिएको थियो । करिब नौ सातामा सेनाद्वारा जोडिएको ४८ दशमलव ७७ मिटर लम्बाई र २४ टनको भारवहन क्षमता बोकेको बेलिब्रिज सडक विभागलाई हस्तान्तरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्