गोरखा नगरपालिकामा प्राधिकरण गठन



गोरखा । गोरखा नगरपालिकाले विकास प्राधिकरण गठनको अभ्यास सुरु गरेको छ । लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तीव्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी दिए । सार्वजनिक निजी साझेदारी(पिपिपि) मोडलमा नगरपालिकाको विकास गर्ने उद्देश्यले प्राधिकरण गठन गर्न लागिएको उनले बताए ।
नवौँ नगरसभाले यससम्बन्धी विधेयक पारित गरेको छ । सभाले गोरखा नगरपालिका विकास प्राधिकरणसम्बन्धी विधेयक २०७८ पारित गरेको हो । अब नगरपालिकाको योजनामा कोही साझेदार बन्न चाहेमा वा प्रस्ताव स्वीकृत गरेमा सहकार्य गर्न सक्ने बाटो खुलेको नगरप्रमुख राजनराज पन्तले बताए ।
यस्तै नगर भित्रको कला, साहित्य, संस्कृतिको विकास, प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले गोरखा प्रज्ञा प्रतिष्ठान पनि गठन गर्ने भएको छ । नगरसभाले यससम्बन्धी विधेयक २०७८ पनि पारित गरेको छ । नगरपालिकाभित्र भाषा, साहित्य, दर्शन, समाजशास्त्र, संस्कृति, ललितकला, नाट्यकला, संगीत कलाको संरक्षण र विकास गर्न गोरखा प्रज्ञा प्रतिष्ठान स्थापना गरिने मेयर पन्तले बताए।

प्रतिक्रिया दिनुहोस्