शिक्षाको विकासबाट मात्र देशको रूपान्तरण सम्भव : राष्ट्रपति



काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गरेकी छन्।

विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको सन्देशमा उल्लेख गरेकी छन्।

‘समयले दिएको यस हाँकलाई स्वीकार्दै दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन आजको दिन हामी सबैले प्रण गर्नैपर्दछ’, उनले भनेकी छन्।सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो। विद्याले व्यक्तिको सामर्थ्य अभिवृद्धि गर्छ, सच्चरित्र दिन्छ, त्यसैले आजको दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने जनविश्वास रहेको उनले बताएकी छन्।

वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजाआराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको छ, ऋग्वेदमा वाग्देवी अर्थात् वाणीकी देवी मानिएकी सरस्वती भएजस्तै बौद्ध सभ्यतामा ज्ञानका बुद्धलाई मन्जुश्रीका रूपमा उपासना गरिने प्रचलन रहेको भन्दै राष्ट्रपतिले ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ–कलाका साधनलाई सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा रहेको बताएकी छन् ।

नेपालका धेरै सांस्कृतिक पर्व र परम्परा जस्तै वसन्त पञ्चमी पनि प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका, जाडोयाम सकिएर वसन्त ऋतुको आगमन हुँदा प्रकृतिले नवीनता पाउने तथा स्रष्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्दछन् भन्दै राष्ट्रपतिले सन्देशमा किसानका निम्ति वसन्त पञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिने गएको र पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्तरूप दिन आजका दिनले प्रेरणा प्रदान गर्दछ भन्ने आफूलाई लागेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्