सवारीसाधनको जोरबिजोर हटाउने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम घट्दै गएकाले निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउने तयारी गरिएको हो ।
कोरोना संक्रमण घट्दै गएकाले अब सहजीकरण गर्दै लैजाने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘‘संक्रमणदर घट्दै आएको छ । यसबारे समीक्षा भइरहेको छ । अब स्मार्ट लकडाउनको प्रावधान खुकुलो बनाउँदै सहजीकरण गर्ने हो,” प्रजिअ रिजालले भने ।
आइतबारदेखि केही नगरपालिकामा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरिएको छ ।
‘‘सार्वजनिक सवारीसाधनमा त जोरबिजोर हटिसक्यो । अब निजी सवारीसाधनको जोरबिजोरमा पनि खुकुलो गरेर पेसा, व्यवसाय चलायमान गराउनेतर्फ गृहकार्य गरिरहेका छौँ । कोरोना घट्दै गएकाले थप खुकुलो गर्ने निष्कर्षमा पुगेका छौँ,” उनले भने ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले यसबारे निर्णय गर्नेछ । त्यसपछि उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रजिअको बैठक बसेर आइतबार नयाँ आदेश जारी हुन सक्ने प्रजिअ रिजालले जानकारी दिए ।

सिनेमाहल, जिमखाना, पार्टीप्यालेसलगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन् । यसबाहेक सार्वजनिकस्थलमा २० जनाभन्दा बढी भेला हुन नपाइने गरी आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्