सभामुख सरकारको मतियार भएः एमाले सचिव अर्याल



बागलुङ । एमाले सचिव पद्मा अर्यालले सभामुख अग्नीप्रसाद सापकोटाले राजनीति गरेको आरोप लगाएकी छिन् ।
उनले सरकार अलोकतान्त्रिक र जनविरोधी भएको र त्यसैको मतियार सभामुख समेत बनेको आरोप समेत लगाइन् । ‘न सरकार जनपक्षीय छ, न सभामुख योग्य भए,’ उनले भनिन्, ‘पेलेर संसद् चलाउन खोज्ने, सहमति सहकार्य गर्न नखोज्नेले सभामुखको गरिमा बचाउन सक्दैनन् ।’ उनले निर्वाचन ढिलाइ गरेर सरकारले लोकतन्त्र मास्न खोजेको आरोप पनि लगाइन् । आइतबार प्रेस चौतारी नेपाल, बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्यालले सरकारलाई नालायकको संज्ञा समेत दिइन् ।
उनले वर्तमान सरकारले चुच्चे नक्साको संरक्षण गर्न नसकेको आरोप लगाइन् । ‘मैले नक्सा सार्वजनिक गरें । तर, वर्तमान सरकारले त्यही नक्साको रक्षा गर्न सकेन,’ उनले भनिन्, ‘विदेशीले धमाधम सडक खन्दा सरकार लुगलुग कामेर बसेको छ ।’ वर्तमान सरकार भारतसँग कापेको उनको भनाइ थियो । उनले एमसीसीबारे एमाले नबोल्ने बताइन् । सरकार बहुमतको भएको र पास गर्न चाहेमा सहजै पास हुने भएकोले एमाले बोल्नु नपरेको टिप्पणी गरिन् । ‘गठबन्धनकै १ सय ६५ सिट छ । त्यो बहुमत हो । एमसीसी पास गर्न चाहेको भए पास गरे भयो,’ उनले भनिन्, ‘संसद्मा पेस भएर छलफलमा बोलाए मात्रै एमाले बोल्ने हो ।’ जिम्मेवार प्रतिपक्षको भूमिकामा बसेर एमालेले काम गरेको दाबी गर्दै संविधान नमिच्न सरकारलाई चेतावनी पनि दिइन् । निर्वाचन नतोकेर संविधान उल्लंघन गरेको भन्दै उनले सरकारको आलोचना गरेकी थिइन् ।

 

प्रकाशित ः माघ २३, २०७८ १३ः०५

प्रतिक्रिया दिनुहोस्