नेकपाका नेता प्रदीप नेपालको नजरमा पद्मरत्न तुलाधर



काठमाडौं : पद्मरत्न तुलाधरसँग मेरा तीन स्मरण छन् । त्यतिखेर छलफल भन्ने साप्ताहिक पत्रिका छाप्थ्यौं । काठमाडौंको असननिर छापाखाना थियो । २०३८ सालको कुरा हो । पद्मरत्नको अभिवाकत्वमा हामीले छलफल पत्रिका निकाल्यौं । उहाँ नभएको भए शायद पत्रिका नै निस्किने थिएन । पटक–पटक दर्ता खारेजी भएपनि बहुदलको मिसनका लागि पत्रिका प्रकाशित गर्न छाडेनौं । पञ्चायत कालमा पत्रकारिता भनेकै ʻमिसन जर्नालिजमʼ थियो । 

जनपक्षीय उम्मेदवारीमा उहाँलाई जिताउन ठूलो लडाइँ लड्नुपर्‍यो । उहाँबाहेक अरु कसैले जित्न नसक्ने जति रहर गरे पनि । उहाँ त मान्नु भयो, तर उहाँ वरिपरिका मानिसले मान्दै मानेनन् । त्यतिबेला म पार्टीका तर्फबाट काठमाडौं उपत्यकाको इन्चार्ज थिएँ । धेरै पटक उहाँसँग बसेर लामो कुरा गरेपछि उम्मेदवारी टुंगो लाग्यो । 

पञ्चायत फाल्ने प्रक्रिया शुरू गरौं यहीँबाट भनेर राष्ट्रिय पञ्चायतको चुनावमा ६० जनाजति उम्मेदवार उठाएका थियौं । पद्मरत्न लगायत पाँच जनाले चुनाव जित्नुभयो । दाइ उठदिनुप¥यो भनेर आग्रह गरियो ।

पद्मरत्नले चुनाव जितेपछि काठमाडौं उपत्यकामा नेकपाको प्रभाव पर्‍यो । पद्मरत्न नेपाः भाषा मंका खलको पनि अध्यक्ष भएकोले उहाँ भए सहज चुनाव जित्न सकिने थियो । धेरै भोटर खलःसँग र गुठीसँग जोडिएका थिए । त्यसैले उहाँलाई आग्रह गरेँ । उहाँले मान्नु भयो । 

उम्मेदवार उठेपछि चिह्न सरकारले दिने चलन थियो । उहाँलाई सूर्य चुनाव चिह्न र्पयो । चुनाव जित्नु भयो । पञ्चायतमा गएर लड्नु भयो । राष्ट्रिय पञ्चायतमा गएर बहुदलको नारा लगाउनु भयो । 

बहुदलीय व्यवस्था स्थापना भएपछि हाम्रो हालत कमजोर थियो । दाइले म अरु चिह्नमा लड्दिन सूर्य चिह्नमा लड्छु भन्नुभयो । पार्टी महासचिव मदन भण्डारीलाई भनियो हँसिया हथौडाबाट चुनाव लड्दा तपाईं जित्नुहुन्छ, अरुलाई नउठाए पनि हुन्छ । पद्मरत्नजीलाई उठाउने हो भने सूर्य चिह्न लिनुपर्छ, भन्यौं । मदन भण्डारीले हुन्छ, काम ठूलो कुरा हो भन्नुभयो । 

पद्मरत्नले चुनाव जितेको सूर्य चिह्न पछि आएर नेकपा एमालेको चुनाव चिह्न भयो । हुन त हँसिया हतौडालाई चुनाव चिह्न बनाउने कुरा पनि थियो, तर हामी त्यस्तो जड थिएनौं । त्यो जडताबाट मुक्त भएको थियौं । राम्रो चिह्न चाहिन्छ, आकर्षक हुनुपर्छ भन्ने थियो । केही साथीहरूले हँसिया हथौडा नै हुनुपर्छ भन्ने पनि थिए । 

अरुले पनि सूर्य लिन्छु भनेपछि, मलाई लाग्यो उपत्यकामा सबैले सूर्य लिनुपर्छ । नभन्दै हामीले काठमाडौंमा एउटा बाहेक सबै क्षेत्रमा चुनाव जित्यौं । १ र ५ मा मदन भण्डारीले चुनाव जित्नुभयो । सूर्य चिह्नको उपहार नेकपाका लागि नासो भयो । 

२०५१ सालको सरकारका हामी दुवै मन्त्री थियौं, म सञ्चार र उहाँ स्वास्थ्य । मन्त्रीबाट हटेपछि उहाँ राजनीतिबाट अलि निष्क्रिय र नागरिक अधिकारको क्षेत्रमा लाग्नु भयो । त्यसपछि हाम्रो सम्बन्ध हाई हेल्लो मात्र भयो । 

मन्त्री हुँदाको समयमा एकपटक पद्मरत्नले गाई काटेर खान पाउनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो । त्यसले पार्टीलाई निकै अप्ठ्यारो पारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्