डब्ल्युएचओको चेतानी : अझै कोरोनाका विभिन्न भेरियन्ट आउन सक्छ



एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले फेरि कोरोना महामारीबारे चेतावनी दिएको छ । संगठनले प्रकोप अझै समाप्त नभएको स्पष्ट पारेको हो ।

संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भविष्यमा कोरोना भाइरसका विभिन्न प्रकारका भेरियन्ट आउन सक्ने बताउँदै चेतावनी दिएकी हुन् ।

हाल स्वामिनाथन महामारीको अवस्था जान्न दक्षिण अफ्रिकाको भ्रमणमा छिन् । यसअघि डब्ल्युएचओका प्राविधिक प्रमुख मारिया भान कार्खोभले पनि ओमिक्रोन कोरोनाको अन्तिम रूप नभएको बताएकी थिइन् ।

‘कोरोनाको नयाँ रूप आउन सक्छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनका अन्य चार संस्करणहरू पछ्याउँदैछ । ओमिक्रोनको बारेमा हामीलाई धेरै थाहा छ, तर सबै कुरा होइन । भेरियन्टको बारेमा केही भन्न गाह्रो छ । भाइरस छोटो समयमै परिवर्तन भइरहन्छ । यो धेरै छिटो फैलिएको हुनाले नयाँ रूपमा आउने सम्भावना पनि छ । त्यसकारण हामीले खोपलाई तीव्रता दिनुपर्छ’, उनले भनेकी थिइन् ।

डब्ल्युएचओले गत मंगलबार सार्वजनिक गरेको साप्ताहिक महामारी प्रतिवेदनअनुसार ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्