म्याग्दीमा ५ हजार बढी सवारी साधन कारबाहीमा 



म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा सवारी चाप बढेसँगै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरुको संख्या पनि बढ्दै गएको छ । जसले गर्दा एकातिर जोखिम बढेको छ भने अर्कोतर्फ ट्राफिक प्रहरीलाई सवारी साधन व्यवस्थित गर्न समेत हम्मेहम्मे पर्ने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले साउनदेखि जेठ अन्तिमसातासम्म  ५ हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको जनाएको छ । यो ११ महिनाको अवधिमा ट्रक÷टिपर, बस, जिप, कार, भ्यान, ट्याक्टर, मोटरसाइकल, स्कुटर गरि ५ हजार ३ सय ५६ सवारी साधनलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी साहयक निरिक्षक मित्रलाल ढकाल जानकारी दिए ।

उनका अनुसार कारबाही गरिएका सवारी साधनका चालकहरुबाट ३६ लाख ७० हजार रुपैयाँ राजस्व जम्मा भएको छ । सवारी कारबाहीमा पर्ने मध्ये जिप, कार र भ्यान बढी रहेका छन् । ‘बजार क्षेत्रभित्र रातिको समयमा मादक पदार्थ सेवन गरि यातायात साधन चनाउनेलाई कडा निगरानी गरेका कारण, कारबाहीमा बढी परेका हुन्’ प्रहरी सहायक निरीक्षक ढकालले बताए ।

सबैभन्दा धैरै असोज र कात्तिक महिनामा राजस्व संकलन भएको उनले बताए । ग्रामीण भेगमा चल्ले निजी सवारी साधनले यात्रु बोक्ने र मनपरि भाडा असुल गर्ने गुनासो आएको र त्यसमा पनि ट्राफिक प्रहरीले सक्रियता बढाएको उनले बताए ।

प्रहरीका अनुसार यस वर्ष म्याग्दीमा ७ वटा दुर्घटनामा २ को मृत्यु, ५ जना सिकिस्त घाइते, १३ जना समान्य घाइते र २ जना वेपत्ता भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्