थ्रीस्टारसँग मनाङ रोकिँदा मछिन्द्रलाई ६ अंकको अग्रता



काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको १०औं चरणमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीमा रोकिएसँगै मनाङले शीर्ष स्थानको मछिन्द्रसँग अंक दूरी कम गर्ने मौका गुमायो।

लिगमा १० खेलबाट २० अंक जोडेको मनाङ दोस्रो स्थानमा यथावत् छ। यस्तै समान खेलबाट १७ अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ। तालिकाको शीर्ष स्थानमा आसीन मछिन्द्रले १० खेलबाट २६ अंक जोडेको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला दयानन्द सिंहले गरेको गोलबाट मनाङले अग्रता बनाएको थियो। दयानन्दले ६२औं मिनेटमा मनाङलाई अग्रता दिलाएका थिए। उनी त्यसको एक मिनेटअघि मात्र मैदान प्रवेश गरेका थिए। दयानन्दले कप्तान अन्जन विष्टको क्रसमा ६ यार्ड बक्सबाट हेडमार्फत बललाई जाली चुमाए।

गोल बेहोरेपछि आक्रामक बनेको थ्री स्टारका रितिकले गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका थिए। सन्जोग राईको ७१औं मिनेटमा क्रसमा घनेफो रोमहले ब्याक पास मिलाउँदा बक्स बाहिरबाट रिततकले गरेको प्रहार बारमा लाग्दै गोल भएको थियो।

त्यसअघि ३३औं मिनेटमा हेमन्त थापामगरले बायाँतर्फबाट गरेको क्रसलाई सन्जोग राईले फितलो प्रहार गोलकिपर अशोक बरालले बचाए। ४०औं मिनेटमा मनाङका अफिज ओलावालले गोलको अग्रताको सुन्दर मौका खेर फाले। पूजन उपरकोटीको लङ पासमा ओलावालेले बक्सभित्रबाट थ्री स्टारका गोलकिपर एक्लै रहँदा गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो।

४९औं मिनेटमा मनाङका प्रवेश कुवरले गरेको क्रसमा ओलावालेको वान टच प्रहार पोस्टमाथिबाट बाहिरियो। नवौं चरणमा संकटाको अपराजित यात्रामा पूर्णविराम लगाउँदै थ्री स्टार शीर्ष चारमा उक्लिएको थियो। मनाङ भने नवप्रवेशी सातदोबाटो यूथ क्लबसँग २–१ ले स्तब्ध बनेको थियो। शनिबारनै भएको खेलमा सातदोबाटो र मछिन्द्र विजयी भए।

प्रतिक्रिया दिनुहोस्