मोतीपुर घटना : मृतकका परिवारलाई लुम्बिनी सरकारले जनही १ लाख दिने



बुटवल : लुम्बिनी प्रदेश सरकारले बुटवलको रुपन्देही मोतिपुरमा भएको झडपा क्रममा ज्यान गुमाएकाका परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको सुरक्षा समितिको बैठकले प्रदेश सरकारकाबाट घटनाका मृतकहरुमा समवेदना व्यक्त गर्दै यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन् ।

मुख्यमन्त्री केसीले मोतीपुरका वास्तविक सुकुम्वासीको समस्या हल गर्नका लागि तत्काल पहल थाल्न निर्देशन दिएका छन् । बैठकमा केसीले सुकुम्वासी समस्या समाधान सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका हुन् ।

बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या समाधान सुझाव कार्यकालमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीको प्रतिनिधि, नापी कार्यालय रुपन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपन्देहीको प्रतिनिधि, भूमिहीनको प्रतिनिधि लगायतको टोलीले सम्मिलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्