नेपाल राष्ट्र बैंकले १५ अर्बको ऋणपत्र जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले फागुन ४ गते ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि फागुन ३ गते बोलकबोलमार्फत बिक्री गरिनेछ ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८२ फागुन ४ गते परिपक्व हुनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात १२.७५ अर्ब र २.२५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्