डिफेन्सिभ मिडफिल्डर रोहित चन्द इन्डोनेसिया प्रस्थान



काठमाडौं । नेपाली फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गरेका छन् । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्स आएका रोहित त्यहिँबाट इन्डोनेसिया गएका हुन् । उनले सामाजिक सञ्जालबाट इन्डोनेसिया प्रस्थान गरेको जनाएका छन् । रोहित इन्डोनेसियामा जकार्ता पर्सिजाबाट ब्यावसायिक फुटबल खेल्दै आएका छन् । इन्डोनेसियाको अहिले शीर्ष डिभिजनको लिग चलिरहेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि नेपाल आएनन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका हुन् । त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।
रोहित नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी हुन् । साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्धको खेलसँगै रोहित सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका हुन् । रोहितले पूर्वकप्तान विराज महर्जनलाई उछिन्दै सर्वाधिक क्याप जित्ने दोस्रो खेलाडी बनेका हुन् ।
२९ वर्षीय रोहितले नेपालका लागि ७४ क्याप खेलेका छन् । विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलरक्षक किरण चेम्जोङको नाममा छ । किरणले ७९ खेल खेलेका छन् ।
माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्