सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकोप्टरबाट उद्धार गरिँदै



काठमाडाैँ : लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन् ।

वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् । पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन् । केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरू बीचमा थुनिएको खबर आएको उनले जानकारी दिइन् । मन्त्री खाणले ती जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र पर्न निर्देशन दिएका छन् ।

त्यस्तै गृहको विपद् व्यवस्थापन महाशाखा प्रमुख पाण्डेलाई तत्काल विपद्‌मा परेकाहरूको उद्धार, अस्थायी स्थानान्तरणको कार्य अघि बढाउन खाँणले निर्देशन दिएका छन् । खाँणले बाढी, पहिरो र डुबान प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई नागकिको जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधनको उपयोग गरी तप्परताका साथ काम गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्