पुरुष एकलको क्वाटरफाइनल समीकरण पुरा



काठमाडौँ । पुष्पलाल स्मृति र्‍याङर्‍याङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (उच्च १६ शीर्ष स्थानका)को क्वाटरफाइनल समीकरण पुरा भएको छ।

पुरुष एकलको क्वाटरफाइनलमा समूह एबाट एपीएफका दीपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बनीबाट सेनाका नवीन श्रेष्ठ र पुलिसका जीवन आचार्य, समूह सीबाट एपीएफका बिजित थापा मगर र धातुका सुदीप सेढाई तथा समूह डीबाट रिभाईभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले स्थान बनाएका छन्।

आज भएको लिगको अन्तिम खेलको समूह एमा प्र फुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१–१७, २१–६ ले पराजित गरे। उनलसे समग्रमा २ जित १ हारका साथ समूहमा उपविजेता बन्दै क्वाटरमा स्थान बनाए। अब क्वाटरफाइनलमा प्रफुल्ले समूह सीका विजेता बिजित थापा मगरसँगको प्रतिस्पर्धा पक्का गरे।

दोस्रो खेलमा दीपेश धामीले पुलिसका सुनिल जोशीमाथि जित निकाले। उनले जोशीलाई २१–१२, २१–१४ पराजित गरे। दीपेश तीनै खेलमा जित निकाल्दै समूहमा पहिलो हुँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भए। अव क्वाटरमा दिनेशले समूह सीका उपविजेता सुदीप सेढाईसँग प्रतिस्पर्धा गर्ने छन्।

समूह बीको खेलमा सेनाका नवीन श्रेष्ठले एपीएफका देवराज रानालाई २१–९, २१–११ ले पराजित गरे। उनले समूहमा सबै जित निकाल्दै बेजितको रूपमा क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन्। अब नवीनले क्वाटरमा समूह डिका उपविजेता सेनाका रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन्। समूह सीको अर्को खेलमा पुलिसका जीवन आचार्यले एपीएफका साजन कृष्ण ताम्राकारलाई २०–२२, २१–८, २१–१३ ले पराजित गरे। आचार्य २ जित र एक हारका साथ समूह उपविजेताको रूपमा क्वाटरफाइनल प्रवेश गरे। अब उनको प्रतिस्पर्धा समूह डिका बिजेता प्रिन्स दाहालसँग हुनेछ।

समूह सीको खेलमा पुलिसका दीपक बोहराले एपीएफका बिजित थापा मगरलाई २४–२२, २१–१५ ले पराजित गरे। यस्तै धातुका सुदीप सेढाईले बाँकेका बिलाल वारिसलाई २१–६, २१–७ ले पराजित गरे। यस समूहमा बिजित, सुदीप र दीपकले प्रत्येकले २ जित १ हार बेहोरे। अंकका आधारमा बिजित समूह बिजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरे। सुदीप र दीपकको अंक पनि बराबर रहेता पनि हेड टु हेडका आधारमा सुदीप सेढाईले क्वाटरफाइनलमा स्थान बनाए।

समूह डीको अन्तिम लिग खेलमा रिभाईभका प्रिन्स दाहालले सेनाका रुकेश महर्जनलाई २१–१२, २१–८ पराजित गर्दै आफ्ना तीनै खेलमा जित निकाल्दै समूह विजेताको रूपमा क्वाटरमा स्थान पक्का गरे। आजको खेलमा पराजित भएता पनि रुकेश २ जितका साथ उपबिजेतका रूपमा क्वाटरफाइनल प्रवेश गरे। अर्को खेलमा एपीएफका निरञ्जन देवकोटाले पुलिसक विष्णु कटुवाललाई २१–१०, २१–१७ ले पराजित गरे। आज जित हात पारेता पनि निरञ्जनले १ जित मात्रका कारण क्वाटरफाइनलमा स्थान बनाउन असफल भए। विष्णुले भने सबै खेल गुमाए।

महिला एकलतर्फ क्वाटर फाइनमा नम्बर एक खेलाडी भोजपुरकी नङ्गशल तामाङले १०औँ संस्करणकी बिजेता एपीएफकी जेशिका गुरुङसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। यस्तै सेनाकी अनु माया राईले सेनाकै प्राथना देउवासँग प्रतिस्पर्धा गर्ने छिन्। राष्ट्रिय च्याम्पियन तथा विश्व जुनियर युगल बरियतामा ७औँ स्थानमा रहेकी रशिला महर्जनले एपीएफकी सुनैना मुखियाको सामना गर्ने छिन्। अर्को प्रतिस्पर्धामा सेनाकी अमिता गिरीले पुलिसकी निता लम्सालको सामना गर्नेछिन्।

पुरुष एकल (१६औँ बरिएता बाहेक)को राउण्ड अफ ६४ को प्रतिस्पर्धामा पुलिसका पूर्णबहादुर थापाले खोटाङका राकेश राईबाट वाकओभर प्राप्त गरे। यस्तै चितवनका टेकप्रसाद पौडेलले कञ्चनपुरका अशोक सिंह धामीलाई २१–१५, २१–११ ले पराजित गरे। यस्तै सेनाका दिवस शंकरले लोकान्तर डट कमका प्रमोद श्रेष्ठबाट वाकओभर प्राप्त गरे।

नखिपोटका मिलन राईले १६ फिदरका प्रारम्भ सिमखडालाई २१–१९, २१–१५ ले पराजित गरे। अन्तिम ३२ मा प्रवेश गर्ने प्रतिस्पर्धामा सेनाका विवेक चौधरीले कपिलवस्तुका रोहित बराललाई १६–२१, २१–७, २१–१२ ले पराजित गरे। यसैगरी हुम्लाका दशरथ बुढाले रिभाईभका समर रानालाई २३–२१, २१–१७ ले, ललितपुरका निखिल भट्टले कैलालीका चन्द्रिका कठरियालाई १६–२१, २१–१४, २१–१३ ले, सुर्खेतका अनिल मल्लले पाल्पाका सुरोज तिमल्सिनालाई २१–१७, २१–१७, साइनोका राजु थापाले सिल्क ग्रुपका नरेन्द्र बम ठकुरीलाई २१–१५, २१–१५ ले, पाल्पाका ज्ञानबहादुर रानाले नखिपोटका विजय मगरलाई २१–९, २१–२३, २१–११ ले, एपीएफका एसिया जवेगुले एनजेसी डल्लुका अरब तुलाधरलाई २१–१३, २१–७ ले, सेनाका पविन लिनथेपले पाँचथरका रोहिन तामाङलाई २१–४, २१–८ ले सेनाका आयुश्मान नागरीले ललितपुरका राजेन्द्र महर्जनलाई २१–९, २१–११ ले, कैलालीका योगेश खड्काले विराटनगर ब्याडमिन्टन क्लबका क्षितिज भुजेललाई २१–११, २१–१० ले, कास्कीका भूगोल गुरुङले मोरङ्गका महेश खड्कालाई २१–५, २१–१५ ले, १६ फिदरका अमन महर्जनले सङ्खुवासभाका प्रशान्त श्रेष्ठलाई २१–११, २१–११ले तथा एपीएफका नवीन सिलवालले नखिपोटका सुजन राईलाई २१–११, २१–१७ ले पराजित गरे।

प्रतिक्रिया दिनुहोस्