स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला



काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी चुनावमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने छ । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ ।

राजनीतिक दलको विधानमा दलको नाम, झण्डा, छाप, चिह्न, कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना, सदस्यता प्राप्त र गुम्ने अवस्था, केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण, महाधिवेशनसम्बन्धी व्यवस्था, बैठक बोलाउने र निर्णय गर्ने कार्यविधिलगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ ।

दलको कोष, आर्थिक व्यवस्थापन र त्यसका जिम्मेवार पदाधिकारी, उम्मेदवार मनोनयन कार्यविधि, अनुशासन कारबाही र पुनरावेदन सुन्ने संयन्त्र, लेखा परीक्षण, नीति तथा कार्यक्रम निर्माणमा सदस्य तथा तल्ला निकायको सहभागिता, विधान संशोधन, विघटन, नियमावली बनाउने अधिकार, सदस्यता र नवीकरण शुल्कलगायत विषय विधानमै उल्लेख हुनुपर्नेछ ।

हाल आयोगमा १६ दलको दर्ता कायम रहेको छ । दर्ता कायम रहेका यी लगायत निर्वाचनमा भाग लिन चाहने सबै दलहरुको दर्ता अनिवार्य गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्