वीरगञ्जबाट लागूऔषध चरेस र मरिचसहित तीन पक्राउ



वीरगञ्ज : प्रहरी वीरगञ्जबाट लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला पनि रहेकी छिन् । प्रहरीले पर्साको छिपरमाई गाउँपालिका ५ भिष्वा बस्ने ३२ वर्षीय इम्तियान आलम र बाराको शितलपुर घर भई हाल वीरगञ्ज महानगरपालिका २ छपकैयामा डेरा गरी बस्ने ३२ वर्षीया मीना खातुन रहेका छन् । 

प्रहरी चौकी इनर्वा र लागूऔषध ब्युरो शाखा कार्यालय पर्सा वीरगञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरुलाई वीरगञ्ज १६ रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जबाट बीआर २२ एल ८२५५ नम्बरको मोटरसाइकलमा रक्सौलतर्फ जाँदै गरेका उनीहरुको साथबाट लागूऔषध चरेस ५ किलो बरामद भएको प्रहरीले जनाएको छ । 

यसैगरी वीरगञ्ज महानगरपालिका १६ इनर्वा बस्ने २६ वर्षीय लालबाबु साह मरिचसहित पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १६ शंकरआचार्य गेट क्षेत्रबाट पक्राउ परेका उनको साथबाट भन्सार छली लैजादै गरेको १५ किलो मरिच बरामद भएको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्