अध्यक्ष ओलीद्वारा ‘कृषि होमस्टे’को उद्धाटन



काठमाडौं । झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेको वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेका छन् ।
दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहेका उनले आफ्नै निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवर्द्धनका लागि बनाइएको यो पहिलो ‘कृषि होमस्टे’, कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
प्रदेश नं १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा घरबास बनाएर सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष बेदनिधि चापागाईंले बताए ।
पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो घरबास देशका विभिन्न सहकारीबाट यहाँको नमूनाखेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको उनले अध्यक्ष ओलीलाई जानकारी दिए ।
कृषि र पर्यटनलाई लक्ष गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमिनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ ।
पाहुना घरमा आठ वटा सुत्ने, सुविधा सम्पन्न कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष बनाइएको छ ।
विसं २०७० सालमा महारानी झोडा साना किसानले प्रवर्द्धन गरेको सहकारीले नाफा कमाउनेभन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जनाइएको छ ।
तीन वर्षअघि सरकारले मुलुकभरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रुपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा रु ६५ लाख, २०७६÷०७७ मा रु ४५ लाख र चालू आवमा रु ५० लाख गरी कूल रु एक करोड ६० लाख उपलब्ध गराएको अध्यक्ष चापागाईंले बताए ।
प्राप्त रकममध्ये होमस्टे निर्माणमा रु एक करोड २० लाख खर्च भएको र बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन गरेको बजेटमा सहकारीले होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारी बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्