सकिबको शतक, बंगलादेशको वेस्ट इन्डिजमाथि रबाफिलो जित



काठमाडौं : इङ्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिज बंगलादेशसँग ६ विकेटले पराजित बनेको छ। जितका लागि वेस्ट इन्डिजले ३ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। इङ्ल्याण्डको टाउनटनमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा सो लक्ष्य बनाएको थियो। यता जबाफी ब्याटिङमा उत्रिएको बंगलादेशले ४१ दशमलब ३ विकेट खेल्दै मात्र ३ विकेटको क्षतिमा निर्धारित लक्ष्य चुम्यो।

वेस्ट इन्डिजका लागि शाई होपले सर्वाधिक ९६ रनको योगदान दिए। वान डे करियरको सातौं शतक पुरा गर्न ४ रनले चुकेका होपले १ सय २१ बलमा ४ चौका र १ छक्कासहित ९६ रन बनाए। ओपनर इभिन लेविसले ७० रन बनाउँदै आउट भए। ६७ बल खेलेका लेविसले ६ चौंका र २ छक्का प्रहार गरे।

सिम्रोन हेटमायरले पनि ५० रनको अर्धशतकिय पारी खेले। २६ बलको सामना गरेका हेटमायरले ४ चौंका र ३ छक्का हिर्काए। त्यस्तै कप्तान जेसन होल्डरले १५ बलमा ४ चौंका र २ छक्कासहित ३३ र डारेन ब्राभोले १९ रन जोडे। ओशन थोमस ६ रनमा अविजित रहँदा अर्का ओपनर क्रिस गेल र आन्द्रे रसेल शून्य रनमा आउट भए।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान र मोहम्मद सैफुद्दीनले समान ३–३ विकेट लिँदा सकिब अल हसनले २ विकेट लिए।

जवाफी ब्याटिङको क्रममा बंगलादेशका ओपनर तामिम इक्वेल ४८ रन बनाए। ५३ बलमा ४ चौका प्रहार गरेका उनले अर्धसतक बनाउन २ रनले चुके। उनलाई सेल्डोन कोट्रेलले रन आउट गराए। तामिम सँग सुरुवातमा साझेदारी गरेका सौम्य सर्कारले २–२ चौका र छक्का प्रहार गर्दै २९ रन जोडे। उनलाई आन्द्रे रुसेलले पेभिलियन फर्काएका थिए। रुसेलको बल क्रिस गेलले क्याच गरेपछि सर्कार आउट भए।

अर्का ब्याटिङ अलराउन्डर साकिब अल हसनले अविजित एक सय २४ रनको योगदान दिंदै एक दिवसीय क्रिकेटमा नवौं र जारी विश्वकपमा दास्रो शतक प्रहार गरे। उनले सर्वाधिक रन बनाउनुका साथै सर्वाधिक १६ चौकासमेत बनाए।

साकिबसँग अविजित रहनेमा लितोन दाश पनि थिए। दाशले ६९ बलमै ९४ रन जोडे। ८ चौका र ८ छक्का प्रहार गरेका दायाँ हाते ब्याट्स्मेनले उत्कृष्ट प्रदर्शन गरेका थिए। लिटन र साकिबले एक सय ८९ रनले साझेदारी गरेका थिए। ब्याटिङमा उत्रिएका रहिमले भने १ रन बनाए लगत्तै आसाने थोमसले पेभिलियन फर्काइहाले।

यो खेलको समाप्तिसँगै वेस्ट इन्डिजले ५ खेलबाट ३ अंक जोडेको छ। वेस्ट इन्डिजले ३ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ। वर्षाको कारण वेस्ट इन्डिजले एक खेलमा अंक बाँडेको थियो। यस्तै बंगलादेशले पनि ५ खेलबाट ५ अंक जोडेको छ। बंगलादेशले वेस्ट इन्डिजलाई हराउँदै नयाँ स्थनमा उक्लिएको हो।

प्रतिक्रिया दिनुहोस्