घरेलु क्रिकेटको फाइनलमा फेरि पारस भर्सेस शरद



काठमाडौं : नेपाली राष्ट्रिय टोलीका सबैभन्दा अनुभवि खेलाडीमध्येका हुन् पारस खड्का र शरद भेषावकर । कप्तानको रुपमा एक दशकयता राष्ट्रिय टोलीको नेतृत्व गरेका पारस खड्का रणनीतिमा माहिर खेलाडी मानिन्छन् । त्यसो त शरद पनि कम छैनन् । राष्ट्रिय टोलीमा अबसर नपाए पनि घरेलु क्रिकेटमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् ।

यसै वर्षदेखि सुरु भएको पोखरा प्रिमियर लिगसमेत गरी नेपालमा टी–२० फर्म्याटका तीन ठूला प्रतियोगिता हुने गरेको छ । एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगका दुई दुई संस्करण सकिइसकेको छ ।

घरेलु टी–२० क्रिकेटका पाँच संस्करणमध्ये पारस खड्का र शरद भेषावकरको नेतृत्वमा रहेको टोलीले एक अर्का्बिरुद्ध तेस्रो पटक फाइनल खेल्दैछन् ।

दुवै खेलाडी रणनीतिमा माहिर मानिन्छन् र अक्सनदेखि नै टिमको छनोट र विदेशी खेलाडीको अनुबन्धसम्म सोचेर निर्णय गर्छन् । लामो समयदेखि क्रिकेटमै रहेकाले उनीहरुमा घरेलु खेलाडीको क्षमताबारे पनि राम्रो ज्ञान छ ।

पोखरा प्रिमियर लिग

यसपटक पोखरा प्रिमियर लिगमा पारसले चितवन राइनोज र शरदले पोखरा पल्टनको कप्तानी गरे । शरदको टोली उत्कृष्ट थियो । भारतीय खेलाडी रवि इन्दर सिंह र युएईका मोहम्मद नाभिदको आगमनले उनीहरु अझै सन्तुलित भए । सुरुआतदेखि नै पोखराको प्रदर्शन राम्रो रह्यो । मुख्य गरी विदेशी खेलाडीकै प्रदर्शनको आधारमा पोखरा लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो ।

तर, चितवनको कथा भने ठ्याक्कै उल्टो र रोमाञ्चक छ । अक्सनपछिको टिम फर्मेसनमा पारस र करण केसीबाहेक अन्य औषत युवा खेलाडीको भरमा चितवन थियो । तर, सन्नी पटेल र स्मित पटेल नामका दुई भारतीय खेलाडीको आगमनले चितवन बलियो बन्यो ।

यद्यपी सरुआती दुई खेलमा चितवनले पराजय ब्यहोर्यो । जसका कारण उसको शीर्ष तीनको यात्रामै प्रश्न उठेको थियो । तर, कप्तान पारस खड्का सहजै हार मान्ने अवस्थामा थिएनन् । प्रतियोगितामा कप्तान पारसकै लय खराव थियो तर, युवा खेलाडीहरुलाई प्रोत्साहित गर्न र बिदेशी खेलाडीको क्षमतामा विश्वास गर्न छाडेनन् उनले, त्यसपछि लगातार जित निस्कियो ।

बिदेशी खेलाडी सन्नी पटेलको शानदार प्रदर्शनले शीर्ष तीनभित्र छिर्नु र इलिमिनेटरमा काठमाडौं रोयल्सलाई पराजित गरी घरेलु प्रतियोगिताका पाँच मध्ये तेस्रो संस्करणको फाइनलमा शरद भेषावकरको टोलीसँग भेट निश्चित हुनु पारसका लागि पक्कै अविस्मरणीय हुनेछ । 

पारस भर्सेस शरद

पारस भर्सेस शरदको फाइनल हेड टू हेडमा भने पारस अगाडि छन् ।

धनगढी प्रिमियर लिगको पहिलो संस्करण अप्रिल २०१७ मा यी दुई फाइनलमा आमने सामने भए । पारसले धनगढी टिम चौराहाको नेतृत्व गरेका थिए भने शरद विराटनगर किङ्सको कप्तान थिए । चौराहा ६२ रनले विजयी भयो ।

त्यसको आठ महिनापछि एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करणमा पनि पारस र शरदकै टोली फाइनलमा पुगे । यसपटक पनि पारसले बाजी मारे । पारसले नेतृत्व गरेको विराटनगर वारियर्सले शरदले नेतृत्व गरेको भैरहवा ग्लाडिएटर्सलाई १ रनले हराउँदै उपाधि जित्यो । घरेलु प्रतियोगिताको फाइनलमा पारस र शरदको हेड टू हेड २–० भयो ।

र, तेस्रो भेटमा मंगलबार यी दुई पोखरा रंगशालामा आमने सामने हुँदैछन् । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधिमा दुवैको दावी रहनेछ । हेर्न बाँकी छ हेड टू हेडमा शरदले २–१ को अन्तरमा झार्नेछन् कि पारसले पारसले ३–० को अग्रता बनाउछन् ।

प्रतिक्रिया दिनुहोस्