जापानमा हावाहुरी र भारी हिमपातका कारण ६८३ रेल र १३६ उडान रद्द



एजेन्सी । जापानमा तीव्र हावाहुरी र भारी हिमपातका कारण रेल तथा हवाइ सेवा अवरुद्ध भएको  छ । जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार सोमवार होक्काइडोमा हावाहुरी र भारी हिमपातका कारण ६८३ रेल तथा १३६ उडान रद्द गरिएको छ।

न्यू चिटोज एयरपोर्टमा अवतरण गर्ने र उडान भर्ने तयारीमा रहेका तथा स्थानीय उडान पनि रद्द भएको एनएचकेले उल्लेख गरेको छ । न्यून चापिय क्षेत्रमा कम-तापमानका कारण देशको उत्तरी भागमा चर्को हावासँगै भारी हिमपात भएको मौसम विभागले जनाएको छ । होक्काइडोमा सोमवार बिहान १३८ फिट प्रति सेकेन्डको हावाको गति मापन गरिएको थियो ।

तीन घण्टामा सो क्षेत्रमा ९ इन्चसम्म हिउँ परेको थियो । सो टापुको राजधानी सापोरो शहरलगायत धेरै क्षेत्रमा ३८ इन्च सम्म हिमपात भएको थियो ।

त्यहाँका सञ्चार माध्यमहरुका अनुसार अबको २४ घण्टामा जापानका उत्तरी र उत्तर-पूर्वी क्षेत्रमा १९ देखि २७ इन्चसम्मको हिमपान हुन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्