विश्व इतिहासमा आज : फिलिपिन्समा जनशक्ति क्रान्तिदेखि युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग



काठमाडाैं । आज सन् २०२२ को २२ फेब्रुअरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग

सन् २०१४ मा युक्रेनका तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभ्याचमाथि महाअभियोग लगाइएको थियो । युरोपेली संघ सँगको सम्बन्ध सम्झौता त्यागेपछि व्यापक विरोधबीच उनीमाथि महाअभियोग लागेको थियो । महाअभियोगपछि उनी देश छोडेर भागेका थिए । उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको थियो ।

न्युजिल्यान्डको क्रिस्टचर्चमा विनाशकारी भूकम्प

सन् २०११ मा न्युजिल्यान्डको क्रिस्टचर्चमा गएको विनाशकारी भूकम्पमा १८५ जनाको मृत्यु भएको थियो । ६ दशमलब ३ म्याग्निच्युडको सो भूकम्प शहरी क्षेत्रमा रेकर्ड गरिएको सबैभन्दा उच्च तीव्रता मध्ये एक थियो ।

फिलिपिन्समा जनशक्ति क्रान्ति  

सन् १९८६ मा फिलिपिन्समा जनशक्ति क्रान्ति सुरु भएको थियो । सो अहिंसात्मक क्रान्तिपछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको पतन र देशमा प्रजातन्त्र पुनर्स्थापना भएको थियो ।

चेकोस्लोभाकियालाई कम्युनिस्ट देश घोषणा

सन् १९४८ मा चेकोस्लोभाकिया कम्युनिस्ट राज्य घोषित भएको थियो । सन् १९८९ को भेलभेट क्रान्तिपछि चेकोस्लोभाकिया संसदीय गणतन्त्र भएको थियो । सन् १९९३ मा विभाजनपछि चेक रिपब्लिक र स्लोभाक रिपब्लिक भएका थिए । 

प्रतिक्रिया दिनुहोस्