ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा एपीएफ



काठमाडौं । ज्योति पाण्डेको अर्धशतकमा एपीएफले ललितपुर मेयर–११ लाई ७ विकेटले पराजित गरेको छ । जितसँगै एपीएफ ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा आयोजक ललितपुर मेयर–११ विभागीय टोली एपीएफसँग ७ विकेटले पराजित भएको हो । ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । एपीएफको यो लगातार तेस्रो जित हो ।
खेलमा प्लेयर अफ द ब्याटर चुनिएकी ज्योतिले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरिन् । ४५ बलको सामना गरेकी उनले ११ चौकासहित अविजित ५६ रन जोडिन् ।
कप्तान सीता रानामगर एक रन बनाएर पवेलियन फर्किइन् । ममता चौधरीले पाँच, सरिता मगरले आठ रन जोड्दा रोमा थापाले ११ रनको योगदान गरिन् ।
बलिङतर्फ ललितपुर मेयर–११ की अनुराधा चौधरीले एक विकेट लिइन् ।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको ललितपुरले पूरा २० ओभर खेल्दै ८० रन जोडेको थियोे । टोलीको तर्फबाट सुमन खतिवडाले सर्वाधिक ३० रन जोड्नि । आरती बिडारीले २१ र कप्तान सरस्वती कुमारीले नौ रन बनाए ।
बलिङतर्फ एपीएफका सुमन विष्ट र करुणा भण्डारीले एक÷एक विकेट लिए ।
एपीएफ ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । एक जित एक हारसहित सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर–१ र लुम्बिनी प्रदेश क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । तीनै खेलमा पराजित ललितपुर मेयर–११ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्