बराबरी खेल्दै संकटा र जावलाखेलले अंक बाँडे



काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार भएको जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको १५ औँ मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५औँ मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे ।
उत्तम राईले ६१ औँ मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत् बललाई जाली चुमाएका थिए । बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौँ स्थानमा यथावत् छ । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा ल्याएको छ ।
त्यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय ब्यहोरेको जावलाखेलले १४ अंक ल्याएर तालिकाको नवौँ स्थानमा छ । लिगमा ११ औँ चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्