नेपाल आज र सगरमाथा खबर कालोसूचिमा (विज्ञप्ति)



काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाल आज डटकम र सगरमाथा खबर डटकमलाई कालोसूचिमा राखेको छ । १३ फागुन २०७८ मा विज्ञप्ति जारी गर्दै काउन्सिलले उक्त अनलाईन खबरलाई कालोसूचिमा राखेको जानकारी दिएको छ । वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा उक्त अनलाईन खबरले पत्रकार आचारसहिंता उल्घन गरेको र पटप पटक ध्यानाकर्ष गर्दा पनि अटेर गरेपछि कारबाही गरेको जनाएको छ । त्यस्तै काउन्सिलले ८१ वटा उजूरी फछ्र्यौट गरेको जनाएको छ ।

प्रेस विज्ञप्ति

प्रेस काउन्सिल नेपालले नेपाल आज डटकम www.nepalaaja.comलाई कालोसूचीमा राखी थप कारबाही अगाडि बढाउने निर्णय गरेको छ । काउन्सिलअन्तर्गत रहेको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले सोको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई गराइ उक्त मिडियालाई उपलब्ध गराइने विज्ञापन, प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) बमोजिम सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

उक्त अनलाइनका विरुद्ध विगत २ वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटकपटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न ६ उजुरी र काउन्सिलको स्वअनुगमनबाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिइएपनि खण्डन प्रकाशन नगर्ने, कतिपय प्रकाशित खण्डन तोडमरोड गरेर पुन: समाचार नै बनाइ प्रकाशन गर्ने, घरीघरी सचेत/ध्यानाकर्षण गराउँदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि नै रहेकाले कालोसूचीमा राखिएको हो ।

उक्त अनलाइनले गलत अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवररुपमा प्रायोजित एवम् एकपक्षीय सामग्रीहरू सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने किसिमबाट पत्रकारिताको न्युनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ‘ब्ल्याकमेलिङ’ गरी आफ्ना माग पूरा नभए विनाआधार चरित्रहत्या गर्ने गरेको भनी मौखिक एवम् लिखित गुनासाहरूसमेत आएको थियो ।

यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको सम्बन्धमा उक्त अनलाइनका सम्पादकलाई छलफलमा बोलाउँदा समेत अटेर गरी उपस्थित नभएको, काउन्सिलमा नै आफैँसँग भएको छलफलको कुराकानी ‘रेकर्ड गरेको छैन’ भनी झुटा बोली अनुमतिबेगर रेकर्ड गरी सामग्री सम्प्रेषण गर्नुका साथै हुँदै नभएको विषयलाई उठाइ भ्रमपूर्ण सामग्री पटकपटक सम्प्रेण गर्दै आएको देखिएको, मिडियाको साइटमा सम्पर्क हुने फोन नम्बर राख्न सुझाए पनि अझै साइटमा राखिएको फोनमा सम्पर्क हुन नसक्ने देखिएको पाइएको छ ।

उक्त अनलाइनबाट विभिन्न विषयमा पटकपटक संदिग्ध समाचार तथा समाचार सामग्री सम्प्रेषण गरिएको विषयमा काउन्सिलको स्वअनुगमन र विभिन्न व्यक्तिबाट उजुरी परेपछि काउन्सिलले विशेष अनुगमन गरेको थियो । साथै ‘योहो’ टेलिभिजन एचडीबाट मिति २०७८।०९।१४ मा समयचक्र कार्यक्रममा प्रसारित सामग्रीका उक्त अनलाइनका सञ्चालक माधवप्रसाद गुरागाईंले पठाएको खण्डनपत्र लगायतका विषयमा एक कार्यदल बनाइ अध्ययन गरेको थियो । उक्त कार्यदलले पनि सो अनलाइनलाई कालोसूचीमा राखी थप कारबाही गर्नुपर्ने निष्कर्षसहित सुझाव दिएको थियो ।

यसैबिच मिति २०७८।१०।६ गतेको निर्णयानुसार काउन्सिलले पटकपटक दिएकोे निर्देशनलाई अवज्ञा गरेकोले ‘सगरमाथा खबर डटकम’ www.sagarmathakhabar.com पनि कालोसूचीमा परेको छ । यसैगरी २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी, ८ जनगुनासा दर्ता भएकोमा हालसम्म ८१ उजुरी र ४ जनगुनासा फछ्र्यौट भएका छन् । साथै, यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फछ्र्यौट भएका छन् । यस्तै ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता/सूचीकरण नभएका वेबपोर्टलहरू नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था भएको छ । यस बिचमा दुई सञ्चार माध्यम अवज्ञाकारी सूचीमा परेका छन् ।

दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत

(प्रवक्ता)

प्रतिक्रिया दिनुहोस्