शिवालयहरुमा भक्तजनको घुइँचो



काठमाडौं । महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेव र भक्तपुर नगरस्थित दत्तात्रय मन्दिरका साथै विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।

शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ। महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ। महाशिवरात्रिको अवसरमा सर्वसाधारण भक्तजनका लागि डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ। मन्दिरमा विशेष पूजाका साथै हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्थासमेत समितिले मिलाएको छ। साँझ पाँच प्रहरको विशेष पूजाका साथै आरती गर्ने व्यवस्था गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिए। महाशिवरात्रिका लागि डोलेश्वर परिसर बेहुलीझैँ सिङ्गारिएको छ।

मूल मन्दिर, मूल प्रवेशद्धारलगायत स्थानमा फूलैफूलका मालाले सिङ्गारिएको छ । पछिल्लो समय डोलेश्वरमा शिवरात्रिका अवसरमा भक्तजनका साथै स्वदेश र विदेशबाट समेत उल्लेख्यरूपमा साधुसन्त र बाबाहरूको आगमन हुने गरेको छ । यस वर्ष महाशिवरात्रिका लागि करिब २५० साधुसन्त डोलेश्वर आइपुगेको कोषाध्यक्ष बल्ले बताए । साधुसन्तलाई निःशुल्क भोजनका साथै धुनी बाल्न आवश्यक दाउरा समितिले उपलब्ध गराएको छ । साधुसन्तलाई शिवरात्रिपछि वर्गानुसार दक्षिणा र उपहार दिएर बिदा गरिने कोषाध्यक्ष बल्लले जानकारी दिए।

गलेश्वरमा भक्तजनको घुइँचो

म्याग्दी–पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रि पर्वका अवसरमा दर्शन र पूजाआजाका लागि आएका भक्तजनको भीड लागेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायतका जिल्लाबाट महाशिवरात्रि पर्वको मेला भर्न आएका भक्तजनको घुइँचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । सोमबार साँझदेखि नै भक्तजन आउन थालेका थिए।

बीस हजार जनाभन्दा बढी भक्तजनले गलेश्वर दर्शन गर्ने कोषले अनुमान गरेको छ । महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थितरूपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूहलगायत सामाजिक र धार्मिक सङ्घसंस्थासँग समन्वय गरेर २३ वटा उपसमिति परिचालन भएको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गरिने मेलामा आउने भक्तजनलाई मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। शिवरात्रिका अवसरमा महाबत्ती बाल्ने ब्यवस्थालाई निरन्तरताका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने सुविधा थपिएको छ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्रि, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ। गलेश्वरधामलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धारका रूपमा चिनिन्छ । द्धापरयुगमा सतिदेवी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पूरा हुने विश्वास छ।

प्रतिक्रिया दिनुहोस्