दृष्टिविहीन छन्, हथौडाकै भरमा परिवार पालेका छन्



म्याग्दी : संस्कृतमा एउटा सुुक्ति (भनाइ) छ – ‘विभुक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ।’

म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतका दृष्टिविहीन आइतबहादुर दर्जीको परिश्रमले भने संस्कृतको यो सुक्तिलाई पुनर्लेखन गर्नुपर्ने बनाइदिएको छ।

जन्मजात दुवै आँखा नदेख्ने ५६ वर्षीय दर्जीले आफ्नो र परिवारको पेट भर्न र जिउ ढाक्न पाप कर्म गरेर होइन, आफ्नै बलबुताले परिश्रम गरेर समाजका लागि समेत उदाहरणीय बनेका छन्।  

दृष्टिविहीन दर्जी ६ वर्षदेखि एकाबिहानै एउटा हातमा लठ्ठी र अर्को हातमा हथौठा बोकेर घरबाट निस्कन्छन्। गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घर निर्माणमा उनैले कुटेको गिटी जान्छ। यसबाटै उनको गुजारा चलेको छ।

दैनिकजसो बिहानै ज्यालामजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उनको जिम्मेवारी भने ठूलो छ। आर्थिक अवस्था कमजोर भएका दर्जीले भकुण्डेको अर्जुन माविमा निर्माणाधीन भवनका लागि गिटी कुट्ने गरेका छन्।

फापरखेतमा सार्वजनिक जग्गामा बसिरहेका दर्जी गत साल पत्रकार हरिकृष्ण गौतमको अगुवाइमा करिब १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग जुटेपछि जस्तापाताले  छाएको घर बस्न थालेका छन्। ५० हजार रुपैयाँमा अर्काको खेत बन्धकीमा लिएका छन्।

दैनिक घरखर्च चलाउन र छोराको पढाइ खर्च जुटाउन गिटी कुट्ने गरेको दर्जी बताउँछन्। उनका दुई छोरा र श्रीमती छन्। जेठा छोरा गाउँकै अर्जुन माविमा कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि आर्थिक अभाव भएकोले वैदेशिक रोजगारीमा जाने तरखरमा छन्। कान्छा छोरा अनील पनि राम्रोसँग आँखा देख्दैनन्। उनी ७ कक्षामा पढ्दै छन्। 

‘मैले दुवै आँखा देख्दिनँ, मेरो कमाइले घरमा चुल्हो बल्छ’, दर्जीले भने। दर्जीले आफ्नो सहारा भनेकै एउटा लठ्ठी र हथौडा भएको बताए। तर उनलाई  लौरोभन्दा प्यारो गिटी कुट्ने हथौडा लाग्छ। उनको परिवार आर्थिक सामाजिक सबै हिसाबले गाउँकै सबैभन्दा कमजोर रहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताए। 

छोराहरूलाई लत्ताकपडा, कपीकमलसहित खाजा खर्च जुटाउनसमेत मुस्किल छ उनलाई। ‘सकिनसकी दैनिक ३ सय जति कमाइ हुन्छ। बिरामी हुँदा आफ्नो शरीरभन्दा छोराहरूको चिन्ता लाग्छ’, दर्जीले भने। दर्जीले पैसाको अभावमा कहिलेकाहीँ एकछाक मात्र खाने गरेको विवाशता रहेको दर्जीले बताए। 

‘पत्रकार हरिकृष्ण गौतम मेरो जीवनमा भगवान् नै बनेर आउनुभयो’, अर्जुन माविको चौरमा गिटी कुट्दै गरेका उनले भने, ‘उहाँकै आग्रहमा देश विदेशमा रहेका व्यक्तिहरुले मलाई सहयोग गरे, त्यसैको भरमा टिनले छाएको घरमा बस्न पाएको छु।’ ‘अवस्था अत्यन्त टिठलाग्दो थियो’, पत्रकार गौतमले भने, ‘उनको दयनीय अवस्था देखेर मैले सहयोग जुटाएँ।’

अपांगताको क्षेत्रमा काम गर्ने धेरै संघ संस्था भए पनि आफ्नो घरमा सानो सहयोगसमेत नभएको उनी गुनासो गर्छन्। ‘गरिबको घरमा त सहयोग गर्ने संघसंस्थाहरू पनि आउँदैनन्। कमाई गर्न पनि सकिँदैन’, उनले भने। श्रीमती बिरामी हुने समस्याले समेत नियमित मजदुरीमा जान समस्या हुने गरेको दर्जी बताउँछन्। मनकारी व्यक्तिहरुसँग उनले सहयोगको याचना गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्