नक्कली बमको सक्कली आतङ्क



काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सोमबार बिहान शङ्कास्पद वस्तु फेला पर्‍यो। ‘नो एमसीसी’ लेखिएको शङ्कास्पद वस्तु संसद् भवन अगाडिको मुख्य सडकमै भेटिएको थियो।

सोमबार यो गतिविधि राजधानी मात्र सीमित रहेन। राजधानीसँगै काभ्रेको बनेपामा पनि यही शङ्कास्पद वस्तु फेला पर्‍यो । बनेपाको पुल बजारको सडकमा भेटिएको शङ्कास्पद वस्तु पनि नेपाली सेनाकै बम डिस्पोजल टोलीले निस्क्रिय बनायो ।
विस्फोटक पदार्थ कति पक्राउ ?
सोमबारमात्र होइन, यस्ता गतिविधि केही वर्षदेखि हुँदै आएको छ। नेपाल प्रहरीको आँकडामा पछिल्लो २ वर्षमा देशभरिमा ४३ वटा विस्फोटक पदार्थसम्बन्धी कसुर भएको प्रहरी रेकर्ड छ।

प्रहरी मुख्यालयमा आर्थिक वर्ष ०७७/०७८ मा २५ र ०७८/०७९ को फागुनको पहिलो हप्तासम्म १८ वटा विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता छ । पछिल्ला २ वर्षमै प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको तथ्याङ्क छ । आर्थिक वर्ष ०७७/०७८ मा बारुद ७ हजार ९४३ ग्राम, सोडा ५०० ग्राम, डेटोनेटर ५५ थान, प्रेसर कुकुर बम, सुतली बम र सकेट बम १-१ थान बरामद भएको प्रहरी मुख्यालय बताउँछ।

यसैगरी चालु आर्थिक वर्षको फागुन पहिलो सातासम्म देशभरिबाट बारुद २ हजार ५८४ ग्राम, सोडा २५० ग्राम, डेटोनेटर ८० थान र नेपोलाइट विस्फोटक पदार्थ ९१ थान बरामद गरेको प्रहरी अभिलेख छ ।
उपत्यकामा बढी
पछिल्लो समय विस्फोटक पदार्थसम्बन्धी घटना उपत्यकामै बढी भएको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्कमा अन्य प्रदेशभन्दा बढी उपत्यकामा यस्ता घटना भएको देखिएको छ । देशभरिमा भएको विस्फोटक पदार्थसम्बन्धी कुल ४३ घटनामध्ये सबैभन्दा बढी १३ वटा घटनामा उपत्यकामा भएको प्रहरी रेकर्डमा उल्लेख छ । त्यसपछि दोस्रो स्थान प्रदेश १ र तेस्रो स्थानमा भने मधेश प्रदेशमा क्र्रमशः बढी विस्फोटकसम्बन्धी कसुर भएको प्रहरी तथ्याङ्क छ ।
कति जना पक्राउ ?
आर्थिक वर्ष ०७७/०७८ देखि चालु आर्थिक वर्षको फागुनसम्ममा ७५ जना विस्फोटक पदार्थसम्बन्धी कसुर गरेको आरोपमा पक्राउ परेका छन् । अघिल्लो वर्षमा ५३ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षमा फागुन पहिलो सातासम्ममा २२ जना पक्राउ परेको प्रहरी तथ्याङ्क छ।

‘इन्टिलिजेन्स’मा छैन लगानी
‘इन्टिलिजेन्स’ सरकारको प्राथमिकता नभएकाले यस्तो गतिविधि बढिरहेको पूर्वप्रहरी अधिकारीहरु बताउँछन्। नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार ‘इन्टिलिजेन्स’ जस्तो गम्भीर विषयमा पनि सरकार गम्भीर नबनेपछि देशभित्र बेथिति बढ्दै गएको छ।

के भन्छन् प्रहरी प्रवक्ता ?
विरोध र बन्दको आह्वान गर्नेहरुबाट प्रायः यस्तो घटना हुने गरेको पाइएको प्रहरी हेड्क्वार्टरले जनाएको छ। प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार अहिले यस्ता घटनाहरु कुनै विरोध कार्यक्रम राख्दा हुने गर्छ कि नेपाल बन्दको आह्वान हुँदा हुने गरेको छ। उनी भन्छन्, ‘किनकि शङ्कास्पद वस्तु राखेपछि त्रास फैलिन्छ, त्रास फैलिएपछि जनता पनि बाहिर आउँदैनन्, अनि जुन लक्ष्य लिएर राखिएको हुन्छ, त्यो पूरा हुन्छ ।’ यसबाहेक अरु कुनै कारण नरहेको प्रहरी प्रवक्ता केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्