राष्ट्रिय हक्की प्रतियोगिता चैतमा हुने



विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आगामी चैत पहिलो सातादेखि राष्ट्रिय हक्की प्रतियोगिताको आयोजना गरिने भएको छ । नेपाल हक्की संघको आयोजनामा चैत ८ गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्वप्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विराटनगरको सहिद रंगशालामा हक्की आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक रञ्जन थापाले बताए । उनका अनुसार प्रतियोगितामा ७ वटा टिमको सहभागिता हुने छ । जसमा एउटा विभागीय टिम पनि छ ।
विभागीय टिम नेपाली सेना, प्रदेश १, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा सहभागिता जनाउने जानकारी थापाले दिए ।
प्रगियोगिताको विजेता र उपविजेता टिमले क्रमश नगद ५० हजार र ३५ हजार रूपैयाँ प्राप्त गर्ने छन् । तेस्रो हुने टिमले १५ हजार रूपैयाँमा चित्त बझाउनुपर्ने छ । विराटनगरमा आयोजना गर्न लागिएको हक्की प्रतियोगिता तेस्रो संस्करणको हो । यसअघि २०७५ सालमा झापामा पहिलो र २०७६ सालमा विराटनगरमा दोस्रो संस्करण आयोजना गरिएको थियो ।
पहिलो संस्करण अन्तर्गतको प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको थियो । दोस्रोमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरेर लुम्बिनीले उपाधि कब्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्