राष्ट्रिय टोलीका फरवार्ड सुमनले पुलिसबाट लिए बिदा



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड सुमन लामाले नेपाल पुलिस क्लब छाडेका छन् । नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्तराज थापाले फरवार्ड सुमनले क्लबमा राजीनामा बुझाएको बताए ।
२०७० देखि पुलिस क्लबबाट खेल्दै आएका सुमन ०७३ मा पुलिसको जागिरे बनेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्लो संस्करणमा सुमनले १२ खेलमा चार गोल गरेका थिए । उनले अर्को एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।
सन् २०१६ मा बंगबन्धु गोल्डकपमा श्रीलंकाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका सुमनले २२ खेलिसकेका छन् । सुमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रिय खेलाडी खेलाडीमध्येका एक हुन् ।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण लागि सुमन साविक विजेता काठमाडौं रेजर्ससँग अनुबन्धित भएका छन् । सुरुमा सुमनमाथि कुनै पनि टोलीले बोली लगाएका थिएनन् । तर, पछि काठमाडौंले ‘विस लिस्ट’मार्फत सुमनलाई भित्राएको हो । एनएसएलको पहिलो संस्करणमा सुमनले बुटवल लुम्बिनीबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्