‘आङ छिरिङ्ग शेर्पा मेमोरियल गल्फ टुर्नामेन्ट’ हुने



काठमाडौं । पर्यटन व्यवसायी स्वर्गीय आङ छिरिङ शेर्पाको स्मृतिमा ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट’ हुने भएको छ । यती एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक गोकर्ण गल्फ क्लबमा दुई दिने प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए । प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत संकलन भएको रकम समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने एअरलाइन्सले घोषणा गरेको छ ।
साथै, प्रत्येक वर्ष आङछिरिङको स्मृतिमा गल्फ टुर्नामेन्ट गर्ने एअरलाइन्सले घोषणा गरिसकेको छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको विजेता र रनरअप, भेट्रान तर्फका विजेता, जुनियर तर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट वडिज र क्लोजेष्ट टु पिन गरी ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग ३ लाख रुपैयाँ बराबरको ट्राभल प्याकेज जित्नेछ । सम्पूर्ण विधा गरी करिब १३ लाख मुल्य बराबरको पुरस्कार वितरण हुने एअरलाइन्सले जनाएको छ ।
त्यस्तै, प्रतियोगितामा यती एअरलाइन्स, तारा एअर, हिमालय एअरलाइन्स, एल्टिच्युट एअर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ्ग रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एअरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर रहेका छन् । शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितको टोलीमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्