मछिन्द्रलाई हराउँदै बागमती सेमिफाइनलमा



धनगढी । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटवल क्लवलाई हराउँदै बागमती युथ क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। धनगढी रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्रलाई पेनाल्टी शुट आउटमा ४–२ गोलको अन्तरले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो ।
यसअघि ए डिभिजन क्लव न्युरोड टिम एनआरटीलाई पेनाल्टी शुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै बागमती क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने मछिन्द्रले सिधै क्वाटरफाइनल खेल खेलेको हो । लिगको उपाधि जितेपछि मछिन्द्रले मोफसलमा खेलेको यो पहिलो खेल हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा कुनै टिमले पनि गोल गर्न सकेनन् । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी शुट आउटबाट निर्णय लिइएको थियो । पेनाल्टी शुट आउटमा मछिन्द्रका दुई खेलाडीले गोलपोष्ट बाहिर प्रहार गर्दा बागमती जित हात पार्न सफल भयो ।
बागमतीले सेमिफाइनल फ्रेण्ड्स क्लवसँग प्रतिस्पर्धा गर्ने छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वागमतीका निकोलस फर्नाडेज म्यान अफ द म्याच भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्