शान्ति प्रक्रियालाई गिज्याइरहने ‘सामूहिक चिहान’



  • निमेन्द्र शाही

बाजुरा । ‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु । त्यो बाटो हिँड्दा आफूलाई सम्हाल्न सक्दिनँ’, जगन्नाथ गाउँपालिका– १ की बिजा बिष्टले आफ्नो वेदना सुनाइन् ।
बूढीनन्दा नगरपालिका– १ को दैयाको मूल बाटोमा रहेको सामूहिक चिहानभित्र उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षा फौजले माओवादीको आरोपमा घरबाटै नियन्त्रणमा लिएर २०५९ वैशाखमा गगनलगायत ९ जनाको दैयामा गोली हानी हत्या गरेपछि अलपत्र शवहरूलाई गाउँलेले पानीको धारा छेउमै सामूहिक चिहान बनाएर गाडे ।
साबिकको जगन्नाथ गाविसबाट माओवादी भेषमा आएका नेपाली सेनाले ‘अभियानमा जाऔँ’ भनेर ल्याएर २३ युवालाई माओवादी आरोपमा घरघरबाट उठाएर ल्याए । दैयामा लगेर गोली हानेर हत्या गरे । दैयाको पुलमा ९ जना मारिएका थिए भने ८ जनालाई केही पर एयरपोर्ट छेउमा लाइन लगाएर गोली ठोकिएको थियो । ६ जनालाई मार्तडी ल्याएर दोस्रो दिन जुगाडा गाविसको खडीगाढमा गोली हानेर हत्या गरियो ।

‘९ महिना गर्भमा राखेर आफूले खाई नखाई हुर्काएको कल्कलाउँदो उमेरको छोरो घरबाट लगेर त्यही पुलमा गोली हानेको सम्झना अहिले पनि मेरो दिमागमा ताजै छ’, उनले भावुक हुँदै सम्झिइन् आफ्नो किशोर छोरोलाई ।
बाजुराका द्वन्द्वकालीन घटनामध्ये दैया घटना सुदूरपश्चिमकै सबैभन्दा ठूलो सामूहिक हत्याकाण्ड हो । उक्त घटनामा एउटै गाउँका १३ जना दलित युवाको सामूहिक हत्या भयो । मारिएका १३ जना सबै लुमा गाउँका थिए । अन्य १० जना अन्य वडाका बासिन्दा थिए ।
हत्याकाण्डपछि जगन्नाथको रूपै फेरिएको गाउँका स्थानीय बताउँछन् । ‘धेरैको वंशनाश भयो, कतिपय बालबालिका टुहुरा भए । विधवाको बिचल्ली भयो’, सोही घटनाबाट उम्कन सफल लालबहादुर बिष्टले उक्त दर्दनाक घटना सम्झँदै भने, ‘बाँचेको भएर यति हेर्न पाएँ । मेरो त दोस्रो जुनी हो । अब उजुरी दिएर के नै हुन्छ र ! हामीले न्याय पाउने आशा छैन ।’
दैया हत्याकाण्डमा मारिने अधिकांश लुमाको सार्की समुदायका थिए । जयसुर सार्की, मनरूप, रूप, कृष्ण, काला, सेते, गगने, मोती, परू, अभिलाल, बिसे र धनमल सार्कीको हत्या गरिएको थियो ।
सोही गाउँका गगन बिष्ट, शेरबहादुर बिष्ट, सत्धन विश्वकर्मा, कमान लोहार, गम बिष्ट र धने कामीलगायत मारिएका थिए ।
स्वामीकात्तिक खापर गाउँपालिका– ४ छापु गाउँका शिव नाथ एक दिनको पैदल हिँडेर द्वन्द्वमा बेपत्ता भएका भाइको खोजीका लागि ६ वर्ष अगाडि सदरमुकाम मार्तडी आएका थिए ।
कान्छो छोरा हेर्न नपाई आमाको मृत्युपछि किरियामा बसेको समयमै रेडियोमा द्वन्द्वको समयमा भएका घटनाको अभिलेख बुझाउने सूचना सुनेपछि आफ्नो भाइको खोजी गरी माग्न सदरमुकाम आएका उनले अहिलेसम्म न्याए पाएका छैनन् ।
६ जेठ २०६० मा तत्कालीन द्वन्द्वरत नेकपा (माओवादी)ले उनलाई घरबाट नियन्त्रणमा लिएको थियो । केही महिनापछि उनका भाइ धर्म नाथले भूमिगत भएको घोषणा गरेका थिए ।
त्यसपछिको समयमा ३ पटकसम्म घरमा आउने–जाने गरेका थिए तर पछि उनी कहाँ गए भन्नेबारेमा घर परिवारलाई जानकारी छैन ।
बेपत्ता भएका धर्मनाथकी आमाको समेत मृत्यु भएको छ । ‘कान्छो छोरो हेर्न नपाई सास जाने भयो भनेर आमा रुनुहुन्थ्यो । उसको चिन्ताले नै आमाको ज्यान गएको छ’, शिव नाथले भने ।
उनले आमाले अन्तिममा ‘भाइको सास वा लास खोजी गर्नू’ भनेकी शिवले बताए । ‘आमाको इच्छा पूरा गर्न पाएको छैन’, उनले थपे, ‘भाइको मृत्यु कहाँ भएको हो सम्म थाहा पाएको भए धर्मअनुसार कर्म गर्न पाइन्थ्यो । उजुरी गरेर हामीले न्याय पाऔँला भन्ने आस त छैन ।’
उनी मात्र होइन, उजुरी दिएका जम्मा २२४ जनालाई नै यसको छानबिन भएर न्याय पाऔँला भन्ने लागेको छैन ।
बाजुरामा द्वन्द्वको समयमा मृत्यु भएका १५३ जनामा उनको नाम छैन भने बेपत्ताको रेकर्डमा समेत नाम भेटिएको छैन । उनका दाजु धर्म नाथले आफैँ आएर निवेदन दिएको बताएका छन् । ‘यहाँ बोल्नेको मात्र कनिका बिक्छ, हामी जस्ता सोझा साझालाई कसैले पत्याउँदैनन्’, निवेदन दिएर फेरि कसैले खोजी गरिदिन्छन् कि भनेर सदरमुकाम आएको उनले बताए ।

उक्त गाउँबाट सत्य निरूपण तथा मेमिलाप आयोगमा उजुरी दिने हालसम्म १४ जना छन् । स्थानीय शान्ति समिति बाजुराले राखेको द्वन्द्वपीडितको लगत हेर्दा मृतकको संख्या १५४, बिस्थापित १११, सम्पत्ति क्षति ११३, अपहरणमा २ जना, अंगभंगका नाममा ४५ जनाले राहत लिएका छन् । तर, बेपत्ताहरूका बारेमा भने कुनै लगत राखेको पाइँदैन । जिल्लाभरबाट २२४ जनाले उजुरी दिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा ४ जना बेपत्ता भएको लगत बुझाएको थियो, जसमा एक जना भारत गएका र अहिले घर फर्किसकेको र अब ३ जना मात्र जिल्लाबाट बेपत्ता रहको शाखाका मन्त्री रामबहादुर शाहीले जानकारी दिए ।
उनले दिएको जानकारीअनुसार अहिलेसम्म सम्पर्कमा नआएका साबिकको वाई गाविस– ९ का धर्म नाथ, साप्पाटा– ९ का रिनारी बिक र गोत्री– ४ का कालीबहादुर बम बेपत्ता भएका छन् ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले स्थानीय शान्ति समितिबाट उजुरी लिने भनेपछि नाम मात्रका पीडितको निवेदन बढी आउने गरेको छ । यसले न्याय दिनका लागिसमेत समस्या हुने देखिएको छ । राहत पाएकाहरूमा समेत युद्धको समयमा मरेका तर युद्धमा नभई कालगतिले मरेकाहरूले समेत सुविधा लिएका देखिन्छ ।
‘कहिले पाइएला न्याय ?’
बूढीनन्दा नगरपालिका– २ का वसन्त रेग्मीको परिवार वर्षौंदेखि दोहोरो तनावमा छ । तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादीले उनका बुबाको हत्या गरे ।
बुबाको टाउकाको खप्पर अहिले पनि दराजमै थन्क्याइएको छ । न्याय तथा छानबिन प्रक्रियाको पनि अत्तोपत्तो नहुँदा परिवार दोहोरो तनाव झेलिरहेको छ ।
श्रीमान्को हत्या घटनामा न्याय पाउने आसले वसन्तकी आमा शान्ताले २० जेठ २०७३ मा सदरमुकाम मार्तडी आएर स्थानीय शान्ति समितिमा उजुरी दर्ता गरिन् । समितिमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोगले उजुरी सङ्कलन गरेकाले न्याय पाउने आस जागेको थियो ।
तर, उजुरीपछि अहिलेसम्म छानबिन तथा न्याय प्रक्रियाको कुनै अत्तोपत्तो नभएपछि परिवारलाई दिक्क लाग्न थालेको छ । अघिपछि घटनाबारे बोल्न नचाहने रेग्मी परिवारलाई तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गरेर पीडितले न्याय पाउने खबरले मन बलियो बनाएको थियो ।
शान्ताका श्रीमान् ४० वर्षीय ताराचन्द्रलाई तत्कालीन माओवादी कार्यकर्ताले २३ फागुन २०६० मा कुल्देवमाडौंको मौरेबाट नियन्त्रणमा लिएर हत्या गरेका थिए । उनी तत्कालीन एमाले जिल्ला उपसचिव थिए । एमालेले आफ्नो पार्टी कार्यालयको दराजमा वर्षांैदेखि मृतक रेग्मीको खप्पर राखिरहेको छ ।
चन्दा नदिएको, कोल्टीमा सेना राख्न लगाएको लगायत आरोप लगाइएका रेग्मीलाई १२ चैत २०६० मा ‘सफाया’ भन्दै हत्या गरेको माओवादी विज्ञप्ति सार्वजनिक भएपछि रेग्मी परिवारमा बज्रपात प¥यो ।
परिवारले केही दिनसम्म शवको आस गरे पनि पाउने सम्भावना देखेनन् । अन्ततः परिवारजनले सामाजिक परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरे ।
दोस्रो जनआन्दोलनको सफलता र शान्ति प्रक्रिया सुरु भएपछि एमाले सचिव रहेका कर्णबहादुर थापा २०६३ मा पार्टी कार्यक्रमका क्रममा त्यही छतारा गाविसमा पुगे । त्यहाँ थापाले रेग्मी हत्याको घटना सम्झे । एकाएक उनका मनमा रेग्मीको चिहान खोज्नुपर्ने विचार आयो ।
स्थानीयको सहयोग लिएर शव गाडिएको स्थान पुगे । यकिन भएपछि अन्य पार्टी कार्यकर्ताको सहयोगमा आफैँले चिहान खोतले । खोतल्दै जाँदा अस्थिपञ्जरका साथ शान्ति र प्रजातन्त्रका लागि जनअभियान लेखिएको कपडासमेत भेटियो । त्यही खप्पर बोकेर मार्तडी फर्किए ।
पीडितहरूले न्याय नपाइने तर सदरमुकाम आउन–जान मात्र खर्च हुने भएका कारण उजुरी दिन नआएका हुन् । अहिले तत्कालीन नेकपा मााओवादीसमेत सरकारमा छ । जिल्लामा द्वन्द्वको समयमा ज्यान गुमाएकाहरूका केही आफन्तले राज्यबाट न्याय पाउने आसमा उजुरी बोकेर जिल्ला सदरमुकाम आउने गरेका छन् । तर, कतिपयलाई उजुरी दिएर साँच्चिकै न्याय पाइन्छ भन्ने विश्वास भने देखिँदैन ।
फोटो क्याप्सन
२ फोटो क्याप्सनः २३ युवालाई माओवादी आरोपमा नेपाली तत्कालीन शाही नेनाले हत्या गरेपछि गाडिएको संयुक्त चिहानमाथि उनीहरूको सम्झनाका लागि कोल्टी नजिकै दैयामा बनाइएको शहीद पार्क । तस्बीरः टीएनटी

प्रतिक्रिया दिनुहोस्