मदिरा, पेनकिलर र स्नायु समस्या



मदिरा अर्थात् रक्सी प्राचीनकालदेखि नै कुनै न कुनै रूपमा प्रयोग हुँदै आएको छ । पेनकिलरको उत्पादन हुनुभन्दा पहिला मदिरालाई दुखाइ कम गर्ने औषधिको रूपमा प्रयोग गरिन्थ्यो । तर, हिजोआज मदिरा नशाका लागि सेवन गरिन्छ ।
मदिरा यस्तो लागु पदार्थ हो, जसले मानिसलाई यसरी मोहनी लगाउँछ कि यसको लतको खाल्डोमा परेपछि त्यहाँबाट निस्कन निकै गाह्रो हुन्छ । मदिराकै करण मानिसको जीवन निकै कष्टकर हुन्छ, मदिराप्रतिको निर्भरता नहटेको खण्डमा अल्पायुमै जीवन समाप्त हुन्छ ।
के हो मदिरा ?
मदिरा एक किसिमको नशालु पेय पदार्थ हो, जसमा इथानोल नामक तत्व हुन्छ । सामान्यतया मदिरालाई प्रतिशतको आधारमा ३ भागमा बाँडिएको छ : बियर, वाइन तथा स्प्रिट ।
बियरलाई पनि अल्कोहल प्रतिशतको आधारमा ३ भागमा बाँडिएको छ : साधारण बियर ९ दशमलब ३ प्रतिशत, कडा बियर ९ दशमलब ५ दशमलब ५ प्रतिशत तथा अत्यधिक कडा बियर ९ दशमलब ७ प्रतिशत अल्कोहल ।
त्यसैगरी वाइन पनि २ प्रकारका हुन्छन् : टेबुल वाइनमा ९ दशमलब ८ देखि १० प्रतिशत, फोर्टिफाइड वाइनमा ९ दशमलब १३ देखि १६ प्रतिशत अल्कोहल हुन्छ । स्प्रिटअन्तर्गत रम, ह्वीस्की, जिन, भोड्का, ब्रान्डी आदि पर्छन् । यिनमा अल्कोहलको मात्र ४० देखि ४५ प्रतिशत हुन्छ ।
अधिकांश मदिरा सेवनकर्ताहरू मदिराको सेवनले गर्ने असरबारे अनभिज्ञ हुन्छन् । तर, स्वास्थ्य पत्रिका ‘ल्यान्सेट’मा प्रकाशित एक शोधअनुसार स्वास्थ्यका लागि रक्सी हेरोइनभन्दा पनि हानिकारक हुन्छ । मद्यपान मुत्युका प्रमुख ८ कारणमध्ये एक हो ।
शोधमा संलग्न शोधकर्ता प्रो. डेभिट नट भन्छन्, ‘रक्सी सबैभन्दा हानिकारक नशा हो किनभने समाजमा यसको प्रयोग व्यापक रूपमा हुने गर्छ ।’ शोधमा मादक पदार्थ सेवनबाट हुने शारीरिक तथा मानसिक हानि, लत, अपराध, हिंसा, अर्थ व्यवस्था र समाजमा पर्न सक्ने असरलाई आधार मानिएको छ ।
उक्त शोधमा हरेक किसिमका लागु पदार्थलाई अंकभार दिएर सूचीबद्ध गरिएको छ । यसमा मदिरापछि हेरोइन र त्यसपछि कोकिनलाई खतरनाक नशालु पदार्थ मानिएको छ ।
शरीरमा प्रभाव
गिलास वा बोतलको रक्सी मुखमा लगाएपछि सोझै पेटमा पुग्छ । पेटबाट सोसिएपछि यो रगतमा मिसिन्छ र शरीरका सबै अंगप्रत्यंगमा पुग्छ । रगतमा अल्कोहलको मात्रा जतिजति बढ्दै जान्छ, त्यतित्यति नै यसले दिमाग र स्नायु प्रणालीलाई नकारात्मक प्रभाव पार्दैै जान्छ ।
रक्सीले सबैभन्दा पहिला असर पार्ने अंग दिमाग हो, त्यसपछि मुटु र कलेजो हुन् । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने हुन्छ ।
लगातार काम गरिरहनुपर्दा कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ, कलेजो नष्ट हुँदै जान्छ अनि लिभर सिरोसिस तथा लिभर फेलिएर हुन पुग्छ ।
स्वास्थ्य समस्या
रक्सी सेवन गर्नाले अनेक प्रकारका शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू देखापर्न सक्छन्, जस्तै ः इन्टक्सिकेसनको समस्या । यदि रगतमा ४०० मिलिग्राम प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा छ भने मानिसको मृत्यु हुन सक्छ ।
अल्कोहलको मात्राले पेटका रोगहरू ग्यास्ट्राइटिस, पेप्टिक अल्सर तथा प्याँक्रियाटाइटिस बढाउँदै लैजान्छ । यसले उच्च रक्तचाप, कार्डियाक मायापैथी तथा मस्तिष्कघात पनि निम्त्याउँछ ।
फोक्सो तथा मुटुका रोगहरू पनि अल्कोहलले नै निम्त्याउँछ । यसले दृष्टिमा समेत असर पार्छ । फलतः नभएको वस्तुको बिम्ब देखिने हुन जान्छ ।
कानसम्म आवाज नपुग्नु पनि यसको समस्या हो । यसले चिन्ता रोग तथा डिप्रेसन निम्त्याउँछ । ८० प्रतिशत डिप्रेसन रक्सी दुव्र्यसनीका कारण देखापर्छ ।
लिंग उत्तेजनामा कमी तथा शीघ्रपतन जस्ता यौन समस्या पनि यसले ल्याउने गर्छ । रक्सी सेवन गर्ने महिलाको बच्चामा शारीरिक तथा मानसिक समस्या देखिन्छ । रक्सीका कारण शरीरमा भिटामिन बी, ए, डी, ई तथा फोलेट आदिको कमी हुन जान्छ ।
यस्ता भिटामिनहरूको कमीले गर्दा तपशीलका समस्याहरू देखिन्छन् : फेरिफेरता न्युरोप्याथी, कोर्साकोफ्स साइकोसिस, अल्कोहलिक इन्फालोप्याथी, अल्कोहलिक हेपाटाइटिस, लिभर सिरोसिस तथा क्यान्सर ।
मदिरा र कलेजो
नेपाललगायत विश्वका धेरै देशहरूमा कलेजोको रोग, लिभर सिरोसिस हुनुको प्रमुख कारण पनि अनियन्त्रित रक्सी सेवन नै हो । नियमित रक्सी पिउनाले कलेजोमा बोसो जम्न थाल्छ ।
कलेजोमा बोसो जमेसँगै कलेजो सुन्निँदै जान्छ । यस अवस्थामा जण्डिस देखापर्न सक्छ । यसलाई अल्कोहलिक हेपाटाइटिस भनिन्छ । अल्कोहलिक हेपाटाइटिस भई बिरामी बाँचेको खण्डमा र रक्सी सेवन गरिरहेको खण्डमा लिभर सिरोसिस हुन्छ ।
लिभर सिरोसिस हुने अर्को कारण भाइरल हेपाटाइटिस पनि हो । यसका अलावा अटोइम्युन हेपाटाइटिस, प्राइमरी बिलियरी सिरोसिस तथा विलसन डिजिज आदिले पनि लिभर सिरोसिस बनाउँछ ।
रक्सी सेवन नगर्ने तर बढी बोसोजन्य पदार्थ सेवन गर्ने तथा व्यायाम आदि शारीरिक कार्यहरू नगर्नाले पनि कलेजोमा बोसो जम्न सक्छ । कलेजोमा यसरी बोसो जम्ने समस्यालाई फ्याटी लिभर भनिन्छ ।
साधारणतया लिभरमा बासो हुँदैन । जब बोसो जम्न थाल्छ, कलेजो सुन्निँदै जान्छ र कलेजोका कोषहरू मर्दै जान्छन् ।
ऋनि, लिभर मास्टियाटो हेपाटाइटिस रोग पैदा हुन्छ । यसको उचित उपचार नगर्ने हो भने लिभर सिरोसिस तथा लिभर क्यान्सरसमेत हुन सक्छ ।
मदिरा र मस्तिष्क
हार्वर्ड विश्वविद्यालयकी चर्चित स्नायु वैज्ञानिक डा. म्यारी प्यासिन्स्कीका अनुसार मदिराले मानिसको मस्तिष्कमा चौतर्फी प्रभाव पार्छ । मस्तिष्कलाई असर गर्न थालेपछि मस्तिष्कको कुनै भाग सुक्छ, कुनै भाग फुक्छ र मस्तिष्कको बनावट नै बदलिन्छ ।
यस्तो समस्यालाई अल्कोहलिक इन्फालोप्याथी भनिन्छ । यस्तो अवस्थामा मानिसको स्मरणशक्ति नष्ट हुने, सोच्न नसक्ने, पागलपन जस्तै हुने गर्छ । मदिराको सेवनबाट पैदा हुने यस्तो गम्भीर रोगलाई कोर्साकोफ्स साइकोसिस भनिन्छ ।
यस्तो अवस्थामा छारे रोगको लक्षण पनि देखापर्न सक्छ । मदिरा दुव्र्यसनमा मदिरा लिन बन्द गर्दा अनेक विथड्रल लक्षणहरू देखापर्छन् । सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने तथा चिडचिडापन हुन सक्छ ।
गम्भीर अवस्थामा नभएको कुरा देख्ने, सुन्ने, उत्तेजित र अक्रामक हुने, बर्बराउने तथा छारे रोगका रोगीझैँ मूर्छा पर्ने हुन्छ । यहाँ उल्लेखनीय कुरा के भने, मदिराप्रति निर्भरता हुनु नै एक मानसिक रोग हो ।
यसका अलावा अनियन्त्रित मदिरा सेवनले अनेक किसिमका मानसिक समस्याहरू उत्पन्न गर्न सक्छन्, जस्तै ः दुश्चिन्ता, डिप्रेसन तथा साइकोसिस । व्यक्ति मानसिक रोगबाट पीडित भएको खण्डमा पनि मदिराको शरणमा पुग्न सक्छ ।
विशेषगरी न्युरोसिस र डिप्रेसनका बिरामीहरू मदिराको कुलतमा फस्ने सम्भावना हुन्छ । यसरी मानसिक रोगमाथि मदिराको लत थपिएपछि मानसिक रोग जटिल बन्छ, मदिराको दुव्र्यसन अटुट हुन्छ ।
सामाजिक समस्या
रक्सी सेवन गर्नाले अनेक समाजिक समस्याहरू निम्त्याउँछ । रक्सीका कारण घरपरिवार तथा छरछिमेकमा झैझगडा, घरेलु हिंसा तथा पतिपत्नीका बीचमा पारपाचुकेसमेत हुन सक्छ ।
मदिराको मोहनीमा फसेको व्यक्ति समाजमा जँड्याहाको उपनामले अपहेलित हुन्छ र घर नर्क जस्तै बन्छ । बाबु जँड्याहा भएको खण्डमा छोराछोरीको पढाइलेखाइ तथा घरगृहस्थीमा समेत नकारात्मक असर पर्छ ।
यस्तो घरमा छोरी लिन र दिनसमेत मानिसहरू हिच्किचाउँछन् । मदिराका कारण समाजमा बेरोजगारी, आपराधिक क्रियाकलाप तथा दुर्घटनाहरू बढ्छन् । नेपालमा सवारी दुर्घटनाको एक प्रमुख कारण मद्यपान पनि हो ।
आर्थिक समस्या
रक्सीले निम्त्याउने अर्को समस्या भनेको आर्थिक समस्या हो । यदि परिवारमा घरको मूली नै मदिराको मोहनीमा फसेको छ भने त्यो घर आर्थिक रूपमा जर्जर हुन्छ ।
एकातिर रक्सी खरिद गर्नका लागि पैसा आवश्यक हुन्छ भने रक्सीका कारण देखापर्ने स्वास्थ्य समस्याको उपचारका लागि पनि पैसा चाहिन्छ । घरमूलीको दैनिकी नै मदिरा पिउनुमा नै बितेपछि अरू कुरा परै छाडौँ, हात–मुख जोड्न पनि परिवारलाई धौधौ हुन्छ ।
उपचार
मदिरा निर्भरता एक मानसिक रोग भएकाले यसको उपचार आवश्यक छ । मानिसलाई मदिराको मोहनीबाट मुक्त गर्न गाह्रो भए पनि असम्भवचाहिँ छैन । औषधिका साथै मनोवैज्ञानिक उपचारद्वारा नै यस रोगबाट मुक्त हुन सकिन्छ ।
पुनर्वास कार्यक्रममा व्यावसायिक प्रशिक्षणको पनि महŒवपूर्ण भूमिका रहन्छ । हिजोआज मदिरा दुव्र्यसनीको उपचार र पुनस्र्थापनाका लागि विभिन्न उपचार पद्धतिहरू अपनाइएका पाइन्छ ।
यसका प्रमुख उपचार पद्धतिहरूमा औषधिद्वारा गरिने उपचार र मनोवैज्ञानिक उपचार मुख्य रूपमा रहने गरेका छन् । यस अतिरिक्त व्यावहारिक चिकित्साअन्तर्गत वातचित, परामर्श, रिलेक्सेसन, एक्सरसाइज, डीएन्जिटाइजेसन, ऐवर्जन थेरापी तथा ग्रुप थेरापी पनि गरिन्छ ।
कग्निटिभ बिहेभियर थेरापीलाई वैकल्पिक उपचारका रूपमा लिइन्छ । मदिरा दुव्र्यसनीको उपचार र पुनस्र्थापनाका लागि औषधिभन्दा पनि मनोशैक्षिक उपचार बढी प्रभावकारी हुन्छ ।
पुछारमा
मदिरा एक खतरनाक लागु पदार्थ हो र यसको सेवनले कुनै फाइदा हुँदैन । हानी नै हानि हुन्छ । मदिराले घर परिवारको सत्यानाश बनाउँछ । समाजमा अपहेलित बनाउँछ ।
त्यसैले यो या त्यो कारणले मदिरा सेवन नगर्नु नै वेश हुन्छ । यदि कुनै कारणवश मदिराको मोहनीमा फसिएको छ भने यसले गर्ने चौतर्फी असरलाई मध्यनजर गर्दै तुरुन्तै यसको उपचारमा लाग्नु वेश हुन्छ ।
मदिराले मक्किएको शरीर मदिराको मोहनीबाट मुक्त भएपछि पुनः समान्य हुन सक्छ । केही समययता नेपालका प्रमुख शहरहरूमा मात्र होइन, टोलटोलमा समेत थुप्रै लागुऔषध दुव्र्यसन पुनर्वास केन्द्रहरू खुलेका छन् ।
तर, यस्ता अधिकांश केन्द्रहरू अदक्ष मानिसद्वारा सञ्चालित छन् । अधिकांश यस्ता केन्द्रहरूको उद्देश्य जसरी हुन्छ, पैसा धुत्ने हो । त्यसैले यस्ता तथाकथित केन्द्रहरूप्रति उपभोक्ता सचेत हुन अतिआवश्यक छ ।
नत्र ‘पैसाजति धामीलाई, व्यथाजति हामीलाई’ उखान चरितार्थ हुन सक्छ । यस कुरामा राम्रो जानकारी प्राप्त गरेर मात्र मदिराको मोहनीमा फसेका आफन्तलाई उपचार र पुनर्वास प्रोग्रामका लागि पठाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्