संसद्को कार्यसूची सार्वजनिक



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफल गर्न संसद्को कार्यसूची सार्वजनिक भएको छ ।
फागुन २९ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने भएका छन् ।
आइतबारको बैठकको सम्भावित दैनिक कार्यसूचीमा पनि महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।
जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।
प्रतिनिधिसभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्मा अवरोध गरिरहेको एमाले पनि सहभागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्