हुण्डी कारोबारमा नयाँ शैली, प्रहरीको मौन समर्थन



काठमाडौं । नेपाली ५० हजार रुपैयाँमा पनि बिक्री नहुने मोटरसाइकलको मूल्य २० लाख ! पत्याउनुहुन्छ ? रौतहटमा यस्तै भएको छ । एउटा भारतीय नम्बरको मोटरसाइकलसँग करिब २० लाख रुपैयाँ माग गरिएको छ। घटनाको सुरुवात यसरी हुन्छ।

शुक्रबार रौतहटको बौधीमाई नगरपालिका–९ सरमझुवाबाट एउटा भारतीय नम्बरको हिरो कम्पनीको मोटरसाइकललाई सशस्त्र प्रहरी–२ छिन्नमस्ताले नियन्त्रणमा लियो। सशस्त्र प्रहरीको टोलीले बीआर०५वाई २९६९ नम्बरको मोटरसाइकलसहित एक जना भारतीयलाई पनि नियन्त्रणमा लियो। सशस्त्र प्रहरी छिन्नमस्ता सूचना थियो– यस मोटरसाइकलले ठूलै आपराधिक कार्य गरिरहेको छ। मोटरसाइकल नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीले सुरु गर्‍यो, आफ्नो सूचनालाई प्रमाणित गर्ने अनुसन्धान। यही क्रममा मोटरसाइकलबाट सशस्त्र प्रहरीले सोच्दै नसोचेको ठाउँबाट पैसा फेला पार्न थाल्यो।

अर्थात्, सशस्त्र प्रहरी रौतहटले नियन्त्रणमा लिएको मोटरसाइकलबाट १८ लाख भन्दा बढी रुपैयाँ बरामद गर्‍यो । सशस्त्र प्रहरीले बरामद गरेकाे पैसा कुनै बोरा अथवा झोलाबाट नभएर मोटरसाइकलकोे टुल बक्स, सिटमुनि र हेल्मेटबाट फेला पार्‍यो, जुन घटनाले सशस्त्र प्रहरीलाई नै झस्काइदियो ।
हुण्डी कारोबारको परिवर्तित शैली
यस घटनापछि सशस्त्र प्रहरीले थाहा पायो– मधेस प्रदेशमा हुण्डीको कारोबारको शैली परिवर्तनबारे । ब्याग वा शरीरमा लुकाएर गरिने हुण्डी कारोबारबारे प्रहरी जानकार भएपछि कारोबारीहरूले पनि प्रहरीबाट बच्न नयाँ बाटो अपनाएका छन् ।

प्रहरीलाई नै छल्न अब बाहिर केही नबोकी सवारी साधनमै लुकाएर मधेस प्रदेशमा हुण्डीको कारोबार भइरहेको यस घटनाबाट पुष्टि भएको मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख गणेश ठाडामगर बताउँछन् । उनले भने, ‘प्रहरीले हुण्डी कारोबारी रोक्न कडाइ गरेपछि कारोबारीहरूले पनि नयाँ जुक्ति लगाएको यस घटनाले खुलासा गरिरहेको छ।’ उनका अनुसार यसको सिधा अर्थ हो– अहिले पनि हुण्डी कारोबार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल– २ छिन्नमस्ता बाहिनीले स्रोत नखुलेको बरामद १८ लाख ७३ हजार रुपैयाँसहित एक जना भारतीयलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा भारतको बिहार पूर्विचम्पारण मोतीहारी थाना महुअवा निवासी ४५ वर्षीय दीपनारायण प्रसादलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद रुपैयाँको स्रोत खुलाउन नसकेपछि थप कारबाहीका लागि रौतहटको गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक मगरले बताए।
बढ्यो हुण्डी कारोबार
सशस्त्र प्रहरीको मात्र आँकडामा हेर्ने हो भने गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा बढी हुण्डी रकम पक्राउ गरिएको देखिन्छ। मधेस प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा हुण्डी कारोबारको १ करोड ४६ लाख रुपैयाँ भन्सार दाखिला गरिएको छ भने चालू आर्थिक वर्षको ८ महिनामै १ करोड ९८ लाख रुपैयाँ हुण्डीको कारबाहीका लागि भन्सारमा दाखिला गरिएको छ।

सशस्त्र प्रहरीको यो आँकडाले नै मधेस प्रदेशमा अवैध हुण्डीको कारोबार अवस्थाबारे चित्रण गरिरहेको छ ।
प्रहरीकै मौन समर्थन
भारतीय नम्बरको मोटरसाइकलबाट सीमा नजिकैबाट स्रोत नखुलेको रकम बरामद भएपछि हुण्डी कारोबार र स्थानीय प्रशासनको वास्तविकता उजागर गरिदिएको छ। यसले मधेस प्रदेशमा भइरहेको हुण्डीको अवैध कारोबारको पर्दाफास नै गरेको छ।

सीमामा खटिएका प्रहरीको मौन समर्थनमा हुण्डी कारोबार भइरहेको छताछुल्ल पारेको छ। हुण्डी कारोबार रोक्नमा प्रहरीबाट तदारुकता देखाइएको छैन भन्ने यस घटनाबाट सजिलै पुष्टि भइरहेको एक पूर्वप्रहरी अधिकारी बताउँछन्। मधेस प्रदेशमा किन हुण्डी कारोबार बढ्दै गएको छ ? प्रहरी किन मौन छ ? यो विषय चोटिलो बनेको उनको भनाइ छ।

तर, मधेस प्रदेशका निमित्त प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अभय झा भने कुनै पनि गलत कार्यमा प्रहरीको मौन समर्थन नरहेको दाबी गर्छन् । हुण्डी कारोबार भइरहेको बारे आफूहरूलाई थाहै नभएको झाले बताए ।

प्रतिक्रिया दिनुहोस्