बसभित्रै घुम्ती सूचना केन्द्र



काठमाडौं । सूचना प्रविधिमा पहुँच नभएका क्षेत्र र समूहलाई लक्षित गर्दै सूचना प्रविधिमैत्री बस तयार भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले ‘घुम्ती सूचना पहुँच केन्द्र’ सञ्चालनमा ल्याएको हो। अत्याधुनिक यात्रुवाहक बसको भित्री स्वरूपलाई परिमार्जन गरेर घुम्ती केन्द्र बनाइएको हो।

वातानुकूलित बसभित्र स्टार होटलका मिटिङ र सेमिनार हलकै झल्को दिने गरी वाईफाई, ल्यापटप, प्रोजेक्टर, स्क्रिन, इलेक्ट्रोनिक पोडियम, शौचालयलगायतका सुविधा राखिएको छ। केन्द्र गत आइतबारदेखि सञ्चालनमा आएको छ। धनगढीमा आयोजना भएको प्रदेशस्तरीय राष्ट्रिय युवा सम्मेलनमा ३०० भन्दा बढी विद्यार्थीले घुम्ती केन्द्रको अवधारणा र लिन सकिने लाभबारे जानकारी लिएका नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्र ढकालले जानकारी दिए। विज्ञान प्रविधिका अवधारणा र ज्ञान बाँड्न घुम्ती केन्द्र नेपालका विभिन्न भेगमा पुग्ने बताउँदै शुक्रबार उनले द नेपालटपसँग भने, ‘कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँ पुगेर हामी अहिले पोखरा आइपुगेका छौँ ।’ शहरी सुविधाबाट बञ्चित विद्यार्थी र अन्य जिज्ञासुलाई बसभित्रै अनुशिक्षण कार्यक्रम सञ्चालन हुने ढकालले प्रष्ट्याए ।

घुम्ती केन्द्रमा १८ जनाले तालिम लिन सक्ने संरचना बनाइएको छ । प्रशिक्षार्थी भन्दा अगाडिको भेगमा प्रशिक्षक रहन्छन् । विद्युतीय पोडियममार्फत कक्षा कोठामा जसरी नै प्रशिक्षकले प्रशिक्षार्थीलाई तालिम प्रदान गर्छन् । बसको सिटको अगाडिको भेगमा रहने टेबुुल लामो दूरीका हवाईजहाजका डाइनिङ टेबलझैँ देखिन्छन् । यस्तो टेबलमा राखिने ल्यापटप र अन्य साधन बस गुडेका बेला सहजै चलाउन मिल्ने नास्टका डा. सुरेश ढुंगेलले बताए। ‘बसभित्रै बनाइएको प्रविधि सूचना केन्द्र सम्भवतः नेपालकै पहिलो र नौलो हो’, उनले भने, ‘अपांगता भएका व्यक्तिहरूले पनि घुम्ती केन्द्रमार्फत सेवा लिन सक्नेगरी संरचना बनेको छ।’ ढुंगेलका अनुसार जेनेरेटरमार्फत केन्द्र सञ्चालन हुन्छ।

दक्षिण कोेरियाको नेसनल इन्फर्मेसन सोसाइटी एजेन्सी (एनआईए)को आर्थिक तथा प्राविधिक सहयोगमा नास्टले यस्तो सेवा अभ्यासमा ल्याएको हो । एनआईएले ४० भन्दा बढी देशमा विज्ञान प्रविधिका ६० वटाभन्दा बढी सूचना प्रविधि केन्द्र तयार गरेको छ। एनआईए दक्षिण कोरियाको विज्ञान र प्रविधि मन्त्रालय मातहतको निकाय हो। प्रविधिमैत्री केन्द्रका लागि नास्टले सन् २०१९ मा एनआईएलाई प्रस्ताव गरेको थियो। सोही प्रस्तावअनुसार नास्टको प्रविधि भवनमा अत्याधुनिक ‘सूचना पहुँच केन्द्र’का लागि एनआईएले स्रोत, साधन उपलब्ध गराएको छ।

नेपालको भूगोल सुहाउँदो प्रविधि केन्द्रका लागि नास्टले गरेको अतिरिक्त प्रस्ताव स्वीकार्दै एनआईएले वातानुकूलित बसलाई घुम्ती केन्द्र बनाएको हो । यस्तो केन्द्रको सुविधा निरन्तर लक्षित वर्गसम्म पुर्‍याउन कम्प्युटर एसोसिएसन अफ नेपाल, लिभिङ विथ आईसीटीलगायतका निकायसँग छलफल भइरहेको प्रविधि सङ्काय प्रमुख डा. ढकालले बताए। यातायात पहुँच भएका ७ वटै प्रदेश स्थानीय तहसम्म प्रशिक्षकसहित घुम्ती केन्द्र पुर्‍याउन प्रदेश र स्थानीय तहसँगको सहकार्य जरुरी हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्